काठमाडौं । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा। गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।
सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा केसीबीच सहमति जुटेको हो । यो सँगै उनको सत्याग्रह अन्त्य भएको हो ।
कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याइनेछ । चालु आर्थिक वर्षदेखि नै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
त्यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका क्रममा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटिने भएको छ । पदाधिकारीहरूको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न चालु संसद् अधिवेशनमै तीन महिनाभित्र संशोधन प्रस्ताव पेश गरिने सहमतिमा उल्लेख छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार चिकित्सा शिक्षाको सिट निर्धारण गरिने तथा निजी शिक्षण संस्थामा सिट वृद्धि नगरी सार्वजनिक शिक्षण संस्थाको सिट विस्तारमा अवरोध नपर्ने व्यवस्था गरिने भएको छ । साथै, चिकित्सासम्बन्धी शिक्षण संस्थालाई गैरनाफामूलक तथा सेवामूलक प्रणालीमा रूपान्तरण गर्ने विषयमा सुझाव दिन छ महिनाभित्र उच्चस्तरीय कार्यदल गठन गरिने सहमति भएको छ ।
यसैगरी विगतमा भएका जघन्य हत्या, आगजनी तथा लुटपाटका घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ व्यक्तिहरूबाट भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गर्ने विषयमा पनि सरकार र डा। केसीबीच सहमति भएको छ ।









प्रतिक्रिया दिनुहोस्