काठमाडौं । यातायात व्यवस्था विभागले विगत ४ वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण छपाइ हुन नसकेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्डहरूको छपाइ सम्पन्न गरी सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाएको छ। विभागले बुधबार विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रसँग २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड छाप्ने कार्य सम्पन्न गरिएको जनाएको हो।
विभागका अनुसार साउन ७ गतेसम्म कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको छ। विभागले विगतमा छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा अन्य स्रोतगत समस्याका कारण लाइसेन्स कार्ड छपाइमा ढिलाइ भएको स्पष्ट पारेको छ।
विभागका अनुसार म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स कार्ड भने छापिएको छैन। त्यस्ता सेवाग्राहीले आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई लाइसेन्स नवीकरण गर्न सक्नेछन्। नवीकरणपछि १० वर्ष अवधिको नयाँ लाइसेन्स उपलब्ध हुने विभागले जनाएको छ।
विभागले आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई थप सहज बनाउन प्रणालीमा सुधार गरिएको पनि जनाएको छ। अब राष्ट्रिय परिचयपत्र नम्बरबाट विवरण प्राप्त गर्ने, अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने तथा लाइसेन्समा भएका विवरणगत त्रुटि सच्याउने व्यवस्था मिलाइएको विभागको भनाइ छ।
त्यस्तै, लाइसेन्स छपाइ र वितरणसम्बन्धी सेवा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट तत्काल उपलब्ध हुने व्यवस्था गरिएको उल्लेख गर्दै वैदेशिक रोजगारीका लागि द्रुत छपाइ तथा कार्ड वितरण सेवा आवश्यक परे सम्बन्धित कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।







प्रतिक्रिया दिनुहोस्