काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, शृङ्खलाबद्ध घटना तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको केन्द्र भएको जनाएको छ।
विज्ञप्तिमा कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले सामाजिक सद्भाव मात्र नभई सर्वसाधारणको जनजीवन, उद्योग–व्यापार तथा समग्र अर्थतन्त्रमा समेत गम्भीर नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको आधारका रूपमा महासंघले व्याख्या गरेको छ।
महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गर्दै सुनसरीको कप्तानगञ्ज लगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ।
साथै, भ्रम, उत्तेजना र अफवाहबाट टाढा रहँदै संयमता अपनाउन तथा परम्परादेखि कायम रहेको सामाजिक भाइचारालाई अझ सुदृढ बनाउन सबै पक्षसँग महासंघले अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्