Skip to content

आईडा र केयुद्वारा एमआइएइडी कार्यक्रमको सेप्टेम्बर २०२६ भर्नाका लागि आवेदन खुला

काठमाडौं । एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले काठमाडौं विश्वविद्यालय (केयु)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने दुई वर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी (एमआइएइडी)’को पहिलो शैक्षिक सत्रका लागि आवेदन खुला गरेको छ।

प्रतिदिन अन्तरसम्बद्धित बन्दै गइरहेको अन्तर्राष्ट्रिय सन्दर्भमा विश्वस्तरीय दक्षता भएका युवापुस्ताका नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

भूराजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको, विश्व अर्थतन्त्र निरन्तर रूपान्तरणको चरणमा रहेको, प्रविधिगत परिवर्तन अभूतपूर्व गतिमा अघि बढिरहेको तथा विश्वव्यापी चुनौतीहरू दिनप्रतिदिन जटिल बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय मामिलालाई रणनीतिक दृष्टिकोणबाट बुझ्न र नेतृत्व गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता विगतमा भन्दा बढी महसुस भएको छ। एमआइएइडी कार्यक्रमले शैक्षिक उत्कृष्टता र व्यावहारिक नीतिगत अनुभवलाई संयोजन गर्दै विद्यार्थीलाई विश्वब्यापी नेतृत्वका लागि आवश्यक ज्ञान, विश्लेषणात्मक क्षमता तथा नेतृत्व क्षमता प्रदान गर्ने लक्ष्य राखेको छ।

आईडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील के.सी.का अनुसार, आईडा र काठमाडौं विश्वविद्यालयबीचको शैक्षिक साझेदारीमा सुरु गरिएको यस कार्यक्रमले अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अर्थशास्त्र, सार्वजनिक नीति, रणनीतिक अध्ययन तथा विश्व राजनीतिसम्बन्धी विषयहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुरूप तयार गरिएको अन्तरविषयक पाठ्यक्रममा समेटेको छ। नीतिगत प्रयोगशाला, कूटनीतिक सिमुलेशन, वार्ता अभ्यास, व्यावहारिक अनुसन्धान, कार्यकारी संवाद र अनुभवी अभ्यासकर्तासँगको प्रत्यक्ष अन्तरक्रियामार्फत विद्यार्थीले सिद्धान्तलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रममा नेपाल तथा विदेशका प्रतिष्ठित विद्वान, पूर्वराजदूत, कूटनीतिज्ञ, नीति निर्माता, विकास विज्ञ तथा उद्योग क्षेत्रका विशेषज्ञहरूको अध्यापन रहनेछ। यस विविध शैक्षिक तथा व्यावसायिक सञ्जालमार्फत विद्यार्थीले समकालीन विश्वका प्रमुख मुद्दाहरूको प्रत्यक्ष अध्ययन गर्ने तथा अन्तर्राष्ट्रिय नीति निर्माण र कूटनीतिक अभ्यासबारे व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

“दुई वर्षे एमआईएईडी स्नातकोत्तर कार्यक्रम चार सेमेस्टरमा विभाजित छ र यसमा कुल ६० शैक्षिक क्रेडिट समावेश छन्,” आइडा–एमआईएईडीका डिन प्रा. इम्तियाज अहमदले भने, “यस कार्यक्रमका सम्पूर्ण अध्यापन अंग्रेजी भाषामा प्रत्यक्ष कक्षामार्फत सञ्चालन हुनेछ। कार्यक्रमले अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र, सुरक्षा तथा रणनीति, उदीयमान विश्वव्यापी चुनौतीहरू, अनुसन्धान पद्धति तथा नेतृत्व विकासजस्ता विषयहरू समेट्छ।”

कक्षाकोठामा हुने अध्यापनका अतिरिक्त विद्यार्थीहरूले अनुसन्धान परियोजनामा संलग्न हुने, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने, क्षेत्रीय अध्ययन भ्रमण गर्ने, व्यावसायिक नेटवर्किङ कार्यक्रमहरूमा सहभागी हुने, थिंक ट्याङ्कका गतिविधिहरूमा आबद्ध हुने तथा नेतृत्व विकाससम्बन्धी कार्यशालाहरूमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। यी गतिविधिहरूले उनीहरूको व्यावसायिक क्षमता मात्र होइन, विश्वव्यापी दृष्टिकोणसमेत सुदृढ बनाउन सहयोग गर्नेछन्।

एमआईएईडी कार्यक्रमका स्नातकहरू परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाहरू, संयुक्त राष्ट्रसंघका निकायहरू, क्षेत्रीय संस्थाहरू, विकास बैंकहरू, सार्वजनिक नीति संस्थाहरू, अनुसन्धान केन्द्रहरू, विश्वविद्यालयहरू, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू, बहुराष्ट्रिय कम्पनीहरू, कर्पोरेट सार्वजनिक मामिला, अन्तर्राष्ट्रिय व्यापार, परामर्श सेवा तथा समग्र विकास क्षेत्रलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकाका लागि सक्षम हुनेछन्।

“यस कार्यक्रममा सरकारी कर्मचारी, परराष्ट्र सेवाका अधिकृत, सैन्य अधिकारी, विकास क्षेत्रका विज्ञ, कर्पोरेट नेतृत्वकर्ता, पत्रकार, अनुसन्धानकर्ता, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी, उद्यमी, सार्वजनिक नीति विशेषज्ञका साथै अन्तर्राष्ट्रिय मामिला र विश्वव्यापी नेतृत्वमा रुचि राख्ने हालै स्नातक तह पूरा गरेका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन्,” आईडा–एमआईएईडी कार्यक्रमका कार्यकारी उपाध्यक्ष तथा प्रिन्सिपल राजदूत डा. दुर्गा बहादुर सुबेदीले भने।

आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। भर्ना प्रक्रिया प्रवेश परीक्षा, अन्तर्वार्ता तथा अन्तिम छनोटमार्फत प्रतिस्पर्धात्मक आधारमा सम्पन्न हुनेछ। गुणस्तरीय, सहभागितामूलक तथा अन्तरक्रियात्मक सिकाइ वातावरण सुनिश्चित गर्न पहिलो समूहमा अधिकतम ४० जना विद्यार्थी मात्र भर्ना गरिनेछ। उत्कृष्ट विद्यार्थीहरूले योग्यताका आधारमा छात्रवृत्ति र फेलोशिपसमेत प्राप्त गर्नेछन्।

आईडा अन्तर्राष्ट्रिय मामिला, कूटनीति, सार्वजनिक नीति, आर्थिक कूटनीति, रणनीतिक अध्ययन तथा नेतृत्व विकासका क्षेत्रमा समर्पित नेपालको अग्रणी थिंक ट्याङ्क तथा स्नातकोत्तर शिक्षण संस्था हो। अन्तर्राष्ट्रिय स्तरमा आबद्ध अनुसन्धान, नीतिगत संवाद तथा स्नातकोत्तर शिक्षामार्फत आईडाले शैक्षिक क्षेत्र, नीति निर्माण र व्यावहारिक अभ्यासबीचको दूरी घटाउँदै नेपाल, दक्षिण एशिया तथा विश्व समुदायका लागि योगदान दिन सक्ने सक्षम नेतृत्व विकास गर्ने लक्ष्यका साथ कार्य गर्दै आएको छ।

सेप्टेम्बर २०२६ शैक्षिक सत्रका लागि आवेदन खुला भइसकेको छ। इच्छुक आवेदकहरूलाई कार्यक्रमसम्बन्धी विस्तृत जानकारीका लागि कार्यक्रमको वेबसाइट अवलोकन गर्न, apply.aidia.edu.np मार्फत आवेदन दिन वा भर्ना योग्यता, आवेदन प्रक्रिया तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आईडामा सम्पर्क गर्न अनुरोध छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T