काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा उद्यमीहरू, वित्तीय संस्थाहरू, लगानीकर्ताहरू र विकास साझेदारहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित काठमाडौँमा “के-कनेक्ट: नेपालमा उद्यमशीलताको इकोसिस्टमको प्रवर्द्धन” नामक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कोइकाद्वारा समर्थित तीनवटा परियोजनाका लाभग्राहीहरू, सरकारी अधिकारीहरू, लगानीकर्ताहरू, वित्तीय संस्थाहरू, परामर्शदाताहरू र विकास साझेदारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ज्ञान, सञ्जाल र वित्तमा पहुँच अभिवृद्धि गर्नुका साथै नवीनता, साझा सिकाइ, दिगो व्यापार वृद्धि र रोजगारी सिर्जनाका लागि एक विशेष मञ्च प्रदान गर्नु रहेको जनाइएको छ ।
के-कनेक्टमा प्रतिनिधित्व गरिएका कोइकाद्वारा समर्थित तीनवटा परियोजनाहरूले ठोस नतिजा हासिल गरिसकेको बताइएको छ । ‘के-हामी’ अन्तर्गत १५ सय भन्दा बढी कोरियाबाट फर्केका आप्रवासी कामदारहरूले प्राविधिक, पुनर्मिलन र वित्तीय साक्षरता तालीम प्राप्त गरेका छन् ।
१९५ जनाले विशेष उद्यमशीलता तालीम पूरा गरेका छन् । कोरियाबाट फर्केका आप्रवासीहरूका लागि ऋणको पहुँचमा ब्याज अनुदान प्रदान गर्न कोइकाले २५ लाख अमेरिकी डलर उपलब्ध गराएको छ । यस कार्यक्रमबाट करिब ३०० जना कोरियाबाट फर्केका आप्रवासीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
जलवायुमैत्री कृषि परियोजनाले तराईको बाढी प्रभावित क्षेत्रमा १०९ वटा जलवायुमैत्री कृषि व्यवसायहरू स्थापना गरेको छ । ५ हजार ३०० भन्दा बढी लाभग्राहीहरूलाई उद्यमशीलता अनुदान र तालीम प्रदान गरेको छ ।
यस्तै ३४३ वटा हरित रोजगारी सिर्जना गरेको छ । यस परियोजना अन्तर्गत कोइकाले तराई एग्रि बिजनेस एण्ड इन्टरप्राइज च्यालेञ्ज फन्ड का लागि १५ लाख अमेरिकी डलर सहयोग विस्तार गरेको छ ।
पोखरामा, रिसाइकल र अपसाइकल मार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाले ११५ वटा रिसाइकल र अपसाइकल उद्यमहरू विकास गरेको छ । फोहोर व्यवस्थापनमा करिब ११ हजार परिवारलाई तालीम दिएको जनाएको छ ।
यस्तै १ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई उद्यमशीलता तालीम प्रदान गरेको जनाइएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-याङले कोइकालाई कोरियाको दिगो विकास मुख्यतया मानिसहरूमा लगानी गरेर, संस्थाहरूलाई सुदृढ पारेर, र नवीनता, उद्यमशीलता तथा निजी क्षेत्रको वृद्धिका लागि अवसरहरू सिर्जना गरेर हासिल गरिएको बताए ।
कोइकाका कन्ट्री डाइरेक्टर मुहून कोङले नेपालमा उद्यमशीलताको विकासलाई समर्थन गर्न कोइकाको दीर्घकालीन प्रतिबद्धताको पुनःपुष्टि गरे । उनले विगत वर्षहरूमा कोइकाले विभिन्न परियोजनाहरू मार्फत उद्यमशीलता, वित्तमा पहुँच र सीप विकासलाई समर्थन गर्दै आएको व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नवराज ढकाल र युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेम राज तामाङले के-कनेक्टको अवधारणा ल्याएको उल्लेख गरे । उनीहरूले नेपालमा रोजगारी सिर्जना, सीप र उद्यम विकासको महत्त्वमाथि थप जोड दिए । उनीहरूले कोइकामार्फत गणतन्त्र कोरिया सरकारद्वारा नेपालमा प्रदान गरिएको अर्थपूर्ण विकास सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा कोइकाकी उपनिर्देशक सुजिन येओले के-कनेक्ट भनेको उद्यमीहरू, वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, परामर्शदाताहरू, सरकारी साझेदारहरू र विकास संस्थाहरूलाई एक बढ्दो उद्यमशीलता इकोसिस्टममा जोड्नु भएको बताइन् ।
कार्यक्रममा लाभग्राहीहरूको सफलताका कथाहरू, बैंक तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको व्यापारिक पिचिंग सत्र, र उद्यमीहरूलाई सम्भावित लगानीकर्ताहरू र व्यापारिक परामर्शदाताहरूसँग जोड्ने प्रत्यक्ष परामर्श सत्रहरू (वान-अन-वान) समावेश गरिएका थिए ।
यी सत्रहरूले सहभागीहरूलाई व्यावहारिक प्रतिक्रिया प्राप्त गर्न, उनीहरूको व्यापारिक रणनीतिहरूलाई बलियो बनाउन, र भविष्यको लगानी तथा सहकार्यतर्फ डोऱ्याउन सक्ने सञ्जालहरू स्थापित गर्न सक्षम बनाएको जनाइएको छ ।
सन् १९९१ देखि गणतन्त्र कोरिया सरकारले कोइकामार्फत स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालीम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनजस्ता विभिन्न क्षेत्रहरूलाई सहयोग गर्दै नेपालको एक प्रमुख विकास साझेदारको रूपमा काम गर्दै आएको छ । कोइकाले हालसम्म नेपाललाई २३ करोड ५० लाख अमेरिकी डलर सहायता प्रदान गरिसकेको छ । कोइकाले नेपाललाई यसका दिगो विकास लक्ष्यहरू हासिल गर्न सहयोग गर्न व्यवसायहरू, नागरिक समाज संस्थाहरू, विश्वविद्यालयहरू र विकास साझेदारहरूसँग सहकार्य गर्दछ ।





प्रतिक्रिया दिनुहोस्