Skip to content

सरकारले बिस्तारै काम गरिरहेको छ, कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए ।

सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गरे । अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए।

सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उनको भनाइ थियो ।

सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरे । विदेश जानुपर्ने बाध्यताभन्दा स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए ।

युवाहरूले देशमै सम्भावना खोजेर अघि बढे त्यसलाई राज्यले सहयोग गर्ने बताउँदै लामिछानेले उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T