Skip to content

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन्।

सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ।

मन्त्री मेहताले लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन्। अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायतका सुविधा रहेकाले ट्रमा युनिट सञ्चालनका लागि उपयुक्त स्थानका रूपमा लहानलाई छनोट गरिएको उनको भनाइ छ।

“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन। नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो,” मन्त्री मेहताले स्पष्ट पारिन् । उनले एक स्थानमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को स्थानमा तत्काल स्वास्थ्य सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्। सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनले उल्लेख गरिन्।

“हाम्रो उद्देश्य एउटै हो—दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,” मन्त्री मेहताले भनिन्। मन्त्री मेहताले ढल्केबरमा निर्माण प्रक्रिया अघि बढिरहेको ट्रमा सेन्टरलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन तथा लहानमा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरिन्।

सरकारले ढल्केबरमा दीर्घकालीन रूपमा ट्रमा सेन्टर निर्माणलाई निरन्तरता दिँदै लहानबाट तत्काल सेवा उपलब्ध गराउने तयारी गरेपछि पूर्वी तथा मधेश क्षेत्रका दुर्घटनामा घाइते हुने नागरिकले उपचारका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T