काठमाडौं । साउन महिनामा खाना पकाउने ग्यास साढे ३९ लाख भन्दा धेरै आयात भएको छ । चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो एक महिनामा ३९ लाख ५४ हजार ७७ सिलिन्डरभन्दा धेरै ग्यास आयात भएको भन्सार विभागकाे तथ्याङले देखाउँछ ।
साउन महिनामा ५ करोड ७३ लाख ३४ हजार १०६ किलो एलपीजी ग्यास आयात भएको हो । ग्यास आयात अघिल्लो आर्थिक वर्ष २०८२–८३ को साउन महिनाको तुलनामा २९ प्रतिशत धेरै आयात भएको छ । अघिल्लो आर्थिक वर्षको साउनमा ४ करोड ४३ लाख १८ हजार ८९३ किलो ग्यास आयात भएको थियो ।
यसको अर्थ गत साउनमा भन्दा चालु आवको साउनमा नेपालमा ग्यासको खपत धेरै भएको छ । गत आर्थिक वर्षको साउन महिनामा नेपालमा ३० लाख ५६ हजार ४७५.३७९ वटा सिलिन्डर खाना पकाउने ग्यास आयात भएको थियो ।
गत आवको साउनको तुलनामा चालु आवमा ८ लाख ९७ हजार ६००.८९७ सिलिन्डर ग्यास बढी आएको हो । गत आवको साउनको तुलनामा नेपालमा चालु आवको साउनमा खाना पकाउने ग्यासको आयात बढी भएको भएता पनि बजारमा ग्यासको अभाव देखिएको छ ।
साउनको पहिलो साताबाट बजारमा देखिएको ग्यास अभावको समस्या अहिले पनि यथावत् रहेको उपभोक्ताहरू बताउँछन् । अहिले पनि ग्यास डिपोले सजिलै उपभोक्तालाई खाना पकाउने ग्यास बिक्री गर्न सकिरहेको छैन ।
साउनको पहिलो सातादेखि सुरु भएको ग्यास अभावको समस्या भदौको १० गतेसम्म अझै कायमै रहेको उपभोक्ताको गुनासो छ ।







प्रतिक्रिया दिनुहोस्