काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।
त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले पनि प्रश्न दर्ता गराएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन र प्रमेशकुमार हमाल तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्ने भएकी छन् ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदहरूले प्रश्नको विषयसहित लिखित जानकारी संसद् सचिवालयमा दर्ता गराइसकेका छन् । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरका लागि छुट्याइनेछ ।
सोही व्यवस्थाअनुसार सभामुखले बुधबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन् । नियमावलीअनुसार यस्तो कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गर्न सकिनेछ ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न बढीमा १५ जना सांसदले अवसर पाउने व्यवस्था रहे पनि यसपटक ११ जनाले मात्रै प्रश्न दर्ता गराएका छन् । दलगत उपस्थितिका आधारमा रास्वपाका सात जनासम्म सांसदले प्रश्न सोध्न पाउने अवस्था रहे पनि तीन जनाले मात्र प्रश्न दर्ता गराएका हुन् ।
नियमावलीअनुसार प्राप्त प्रश्न स्वीकार्य भए–नभएको निर्णय सभामुखले गर्नेछन् । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गर्न सक्ने व्यवस्था छ । यस्तै, प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि प्रतिनिधिसभामा थप छलफल भने नहुने व्यवस्था नियमावलीमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्