Skip to content

मर्चेन्ट बैंकरलाई सेबोनको निर्देशन: आईपीओ निष्काशनअघि वस्तुपरक अध्ययन गर्नु, महिनामा एउटा वित्तीय साक्षरता कार्यक्रम अनिवार्य चलाउनु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई धितोपत्र निष्काशन तथा सम्बन्धित कार्यलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन विभिन्न निर्देशन दिएको छ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै मर्चेन्ट बैंकरहरूलाई निर्देशन जारी गरेको हो । निर्देशनअनुसार धितोपत्र निष्काशनका लागि आवेदन पेश गर्नुअघि निष्काशन गर्ने कम्पनीको वित्तीय तथा व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गर्नुपर्नेछ। साथै, निष्काशन प्रक्रियामा स्वार्थको द्वन्द्व नहुने अवस्थासमेत सुनिश्चित गरेर मात्रै बोर्डमा आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि बोर्डमा प्राप्त निवेदनका सम्बन्धमा आर्थिक वर्ष २०८२–८३ को लेखापरीक्षण प्रतिवेदनका आधारमा बोर्डले तोकेको वित्तीय मापदण्ड पूरा भएको हुनुपर्नेछ। लेखापरीक्षण सम्पन्न नभएको अवस्थामा लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणका आधारमा प्रक्रिया अघि बढाउनुपर्नेछ। यससँगै परिपालना प्रतिवेदन (कम्प्लायन्स रिपोर्ट) समेत पेश गर्नुपर्ने निर्देशन बोर्डले दिएको छ।
बोर्डले मर्चेन्ट बैंकरहरूलाई प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नसमेत निर्देशन दिएको छ। उक्त व्यवस्थाले लगानीकर्तामा धितोपत्र बजार तथा लगानीसम्बन्धी जानकारी र सचेतना बढाउने अपेक्षा गरिएको छ।
बोर्डको पछिल्लो निर्देशनले धितोपत्र निष्काशन प्रक्रियामा मर्चेन्ट बैंकरको जिम्मेवारी, अध्ययन तथा परिपालनालाई थप कडाइ गर्ने संकेत गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T