काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष व्यवस्थापकलाई आफूले व्यवस्थापन गरेका योजनासम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउने उद्देश्यले बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार मर्चेन्ट बैंकरले आफूले व्यवस्थापन गरेका योजनाको स्वीकृत विवरण पुस्तिका आफ्नो वेबसाइटमा सम्बन्धित योजना परिपक्व नहुँदासम्म राख्नुपर्नेछ।
त्यस्तै, खुलामुखी सामूहिक लगानी योजनाको हकमा प्रत्येक दिन बिक्री भएका इकाई, पुनःखरिद भएका इकाई तथा एसआईपी र डीआरआईपी मार्फत खरिद भएका इकाईको विवरण पनि वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै प्रत्येक दिन कारोबार समाप्त भएपछि कायम भएको नेट एसेट भ्यालु (न्याभ), बाँकी मौज्दात इकाई र इकाईधनीको संख्या समेत आफ्नो वेबसाइटमा अद्यावधिक गरी राख्न बोर्डले निर्देशन दिएको छ।






प्रतिक्रिया दिनुहोस्