काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाली सेनाले उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ।
भदौ १० गते बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत खोला तथा नदी तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार टोली परिचालन गरेको हो।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन मेडिकल टोलीसहितको हेलिकप्टरसमेत परिचालन गरिएको सेनाले जनाएको छ।
यसैगरी धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितको उद्धार तथा सहयोगमा सहकार्य गर्नसमेत अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्