काठमाडौं । रसुवामा बुधबार बिहान गएको भीषण बाढीका विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सम्बन्धित निकायले बाढीबाट हालसम्म भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र खोजी कार्यबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका छन् ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा खोजी कार्य, घाइते तथा प्रभावित नागरिकको व्यवस्थापन र राहत वितरणका विषयमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले विपद्पछिको उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी र तीव्र बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । उनले प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा राज्यका संयन्त्रसँगै सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धार, खोजी तथा राहत वितरणमा सक्रिय रूपमा खटिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
रसुवामा बुधबार बिहान आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सरकारले उद्धार, खोजी तथा राहतका लागि आवश्यक कदम अघि बढाएको हो ।






प्रतिक्रिया दिनुहोस्