काठमाडौं । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ मा सञ्चालित ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह त्रिशूली नदीमा आएको भीषण बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार २०८३ भदौ १० गते बिहान करिब ९ः१५ बजे त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको हो।
बाढीका कारण आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्युत् उत्पादन बन्द भएको कम्पनीले जनाएको छ। साथै, आयोजनामा कार्यरत कर्मचारीहरूको अवस्थासमेत हालसम्म अज्ञात रहेको कम्पनीले जानकारी गराएको छ।
कम्पनीले आयोजनामा भएको क्षति तथा कर्मचारीहरूको अवस्थाबारे आवश्यक विवरण संकलन भइरहेको जनाएको छ। बाढीबाट आयोजनाको भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण भने थप अध्ययन तथा निरीक्षणपछि मात्र खुल्ने देखिएको छ।
कम्पनीले उक्त घटनाबारे नेप्सेलाई औपचारिक जानकारी गराउँदै आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको जनाएको हो।
प्रतिक्रिया दिनुहोस्