काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिले भदौ ११ गते सर्कुलरमार्फत उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। बाढी र डुबानका कारण दर्जनौं नागरिकले ज्यान गुमाएको, धेरै व्यक्ति बेपत्ता भएको तथा सयौं परिवार विस्थापित हुनुपरेको घटनाप्रति कम्पनीले समवेदना प्रकट गरेको जनाएको छ।
प्रभु महालक्ष्मी लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावितहरूको खोज तथा उद्धार, राहत वितरण, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य उपचार र पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले विपद्पछि सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानप्रति ऐक्यबद्धता समेत जनाएको छ।
प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, राष्ट्रिय संकट तथा महामारीका बेला विभिन्न माध्यमबाट सहयोग गर्दै आएको उल्लेख गर्दै वर्तमान कठिन परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।






प्रतिक्रिया दिनुहोस्