Skip to content

ग्ल्यासियर फुटेर तालमा क्षति, तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो तालमा ग्ल्यासियर फुट्दा लेदोसहितको पानी ओभरफ्लो भएको सरकारले जनाएको छ। यद्यपि, घटनाबाट तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी छ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले तालको ड्याम फुटेको नभई ग्ल्यासियर फुटेका कारण पानी लेदोसहित ओभरफ्लो भएको जानकारी दिए।

‘कतै ड्याम फुटेको भन्ने छैन। सामान्य ग्ल्यासियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ उनले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुन आवश्यक छ।’

उनका अनुसार घटनाबारे नेपालले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग निरन्तर संवाद गरिरहेको छ। चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको उनले बताए।

प्रवक्ता पोखरेलले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे।

यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको बताएका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T