काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । मौसम प्रतिकूल भए पनि उद्धार टोलीले निरन्तर प्रयास गर्दै उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो ।
यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित निकायहरू सक्रिय रहेको बताइएको छ ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि जोखिममा परेका व्यक्तिको उद्धारलाई उच्च प्राथमिकता दिँदै अभियान निरन्तर अघि बढाइएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्