तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा २ करोड २ लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ ।
सो अवधिमा २ करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए ।
केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् लाइन काटेर १ करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताए । सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ । ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ ।
वितरण केन्द्रअन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन् ।
वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा सेवा प्रवाह गर्दै आएको छ ।
वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन् ।
केन्द्रले ११/०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्