काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्।
भाद्र १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित स्थानीय तहका प्रमुखसँग लामिछानेले रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गर्दै क्षतिको अवस्था, जारी उद्धार तथा राहत कार्य र स्थानीय तहले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन्। संवादमा रास्वपाका केन्द्रीय तहका नेताहरूको समेत सहभागिता रहेको थियो।
संवादका क्रममा गोसाइँकुण्ड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने बताए। उनले बेपत्ता तथा मृतकको शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव रहेको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याए।
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि थप प्रभावकारी उपाय अपनाउनुपर्ने बताए। सीमित भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग थियो।
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, तातो खाना पकाउन ग्यासको अभाव रहेकाले कम्तीमा एक हजार ग्यास सिलिन्डर तत्काल उपलब्ध गराउनुपर्ने बताए। उनले नेपाल विद्युत् प्राधिकरणले विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम तत्काल सुरु गर्नुपर्ने माग गरे। साथै, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत उनले राखे।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई तत्काल समाधान गर्नुपर्ने प्रमुख समस्याका रूपमा प्रस्तुत गरे। उद्धारमा सुरक्षाकर्मी परिचालन हुँदा नियमित जनसुरक्षाका काम प्रभावित भएको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग पनि उनले गरे।
नुवाकोटको बेलकोटगढी नगरपालिकाका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने तथा विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको जानकारीसमेत गराए।
त्यस्तै, धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले प्रभावितका लागि तत्काल कम्तीमा १०० वटा टेन्ट आवश्यक रहेको बताएका छन्। उनले वैकल्पिक आवासको व्यवस्था गर्न माग गरे।
पालिका प्रमुखहरूले उठाएका समस्या, माग र सुझाव सुनेपछि सभापति लामिछानेले उद्धार, राहत, सडक, विद्युत्, आवास तथा शव व्यवस्थापनलगायतका विषयमा नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
लामिछानेले विभिन्न मन्त्री तथा सम्बन्धित निकायका पदाधिकारीसँग समन्वय गर्ने कार्य तत्काल सुरु गरेको रास्वपाले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्