काठमाडौं । गत बुधबार रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले सडक पूर्वाधारका क्षेत्रमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्ररम्भिक तथ्याङक सार्वजनिक भएको छ ।
मंगलबार सडक विभागले पत्रकार सम्मेलनमा गरेर रसुवा र पृथ्वी राजमार्गमा क्षतिको भएको जनाएको छ ।
विभागका महानिर्देशक डा. विजय जैसीले बाढीले क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
बाढीको छालले १०० मिटर माथिसम्म क्षति पुर्याएको उनले बताए । बाढीले गल्छी–बेत्रावती–रसुवागढी सडकको ४० किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त बनाएको छ ।
यस्तै ३ वटा जिल्लामा ३५ वटा पुलमा क्षति पुगेको छ । विभागले आपत्कालीन पुनर्निर्माणका लागि भारत र चीनबाट बेलिब्रिज मगाउने भएको छ । ‘भारतबाट ७० मिटरका १० वटा बेलिब्रिज मगाउँदैछौँ । चीनबाट बेलिब्रिज ल्याउने तयारी भइरहेको छ,’जैसीले भने । तत्कालका लागि देवीघाट, त्रिशूली र बेत्रावतीमा विभागकै मौज्दातमा रहेका बेलिब्रिज जडान सुरु भइसकेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल काम सुरु गर्न सडक बोर्डले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । दसैँको मुखमा ग्यास बुलेट र इन्धनको आपूर्ति सहज बनाउन विभागले रात्रिकालीन समयमा वैकल्पिक मार्गहरूमा ट्राफिक म्यानेजमेन्ट गरिरहेको उनको भनाइ छ ।
यस्तै पृथ्वी राजमार्गको अवरुद्ध कृष्ण भिरमा ‘ब्याक कटिङ’ गरेर भित्ताबाट सडक खुलाउने विषयमा छलफल भइरहेको बताए ।






प्रतिक्रिया दिनुहोस्