Skip to content

सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताएका छन् ।

सभापति लामिछानेले प्रेस विज्ञप्ति जारी गरेर ‘जेनजी’ आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताए । “हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ”, सभापति लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सभापति लामिछानेले जेनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको पनि स्पष्ट पारे । “यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन, यो पूर्णतः स्वस्फूर्त जागरण थियो”, उनले भने, “त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन ।”

सभापति लामिछानेले ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराए । “वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालका सचेत युवा पुस्ता (जेनजी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो”, उनले भने, “एक थोपा पनि रगत नबगाइ पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् ।”

सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते भएका तथा मानसिक एवं शारीरिक चोट भोगेका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।

सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गरे ।

सभापति लामिछानेले आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिने गरी नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुनुपर्ने बताए । “जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु”, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T