काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारको आवश्यकता पहिचान गरी अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ ।
आपतकालीन अवस्थामा प्रभावित नागरिकलाई सुरक्षित राख्न सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारीअनुसार सर्वेक्षण अघि बढाइएको हो ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी ‘कोबो टुलबक्स’ प्रयोग गर्दै ‘आवश्यकता मूल्याङ्कन फारम’ मार्फत विवरण संकलन गरिरहेको छ ।
सर्वेक्षणमार्फत प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता तथा स्थानान्तरणका लागि उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ ।
त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यक पूर्वाधार र सेवासम्बन्धी आवश्यकतासमेत पहिचान गरिने विभागले जनाएको छ ।
हाल होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरी सरकारलाई अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले सर्वेक्षण भइरहेको छ। एक साताभित्र होल्डिङ सेन्टरमा रहेका सबै परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारको सर्वेक्षण सकिएपछि त्यसभन्दा बाहिर रहेका बाढी प्रभावित परिवारको समेत सोही आवश्यकता मूल्याङ्कन फारम प्रयोग गरी विवरण संकलन गरिने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्