Skip to content

बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लक्ष्मी सन्राइज क्यापिटल

काठमाडौं । सिद्धार्थनगर (भैरहवा), लुम्बिनीमा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरको कुल रकम १५ करोड रुपैयाँ बराबर हुनेछ ।

साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशनसम्बन्धी सम्झौतामा बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा आज (भदौ २५ गते) सम्झौता सम्पन्न भएको हो । सम्झौतासँगै कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।

बुद्ध रिजेन्सी होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि, सिद्धार्थनगरमा अवस्थित पाँचतारे लक्जरी होटल हो । होटलले अन्तर्राष्ट्रिय आतिथ्य सत्कार समूह विन्डहम होटल्स एण्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ ।

होटलमा पाहुनाको आरामदायी बसाइका लागि १०० भन्दा बढी सुविधासम्पन्न कोठा रहेका छन् । त्यस्तै, विवाह समारोह तथा ‘डेस्टिनेसन वेडिङ’का लागि भव्य बैंक्वेट हलहरू तथा कर्पोरेट सम्मेलन र कार्यक्रमका लागि दुईवटा समर्पित हलसमेत उपलब्ध छन् ।

कम्पनीले साधारण सेयर निष्काशनमार्फत सर्वसाधारणलाई समेत आफ्नो स्वामित्वमा सहभागी गराउने तयारी गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T