Skip to content

कामपाका तत्कालीन इन्जिनियर रामबाबुविरुद्ध ४ करोड ४८ लाखको भ्रष्टाचार मुद्दा, साली–साढुभाइसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारबाट प्राप्त सम्पत्तिलाई विभिन्न माध्यमबाट लुकाउने, रुपान्तरण गर्ने र वैध सम्पत्तिका रूपमा देखाउने कार्य गरेको आरोपमा रामबाबु महतो कोइरी, उनकी श्रीमती माला कुमारी महतो तथा माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्ण प्रसाद मेहताविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार रामबाबु महतो कोइरीविरुद्ध यसअघि नै गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा बिगो ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा कायम गरी विशेष अदालतमा मुद्दा विचाराधीन छ। सोही गैरकानुनी सम्पत्ति आर्जनलाई सम्बद्ध कसुर मानी सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान गरिएको आयोगले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लागू हुनुअघि नै रामबाबु महतोले कसुरबाट १९ लाख १५ हजार ५१४ रुपैयाँ ८६ पैसा प्राप्त गरेको देखिएको आयोगले जनाएको छ। उक्त रकम आर्जन गर्दाका बखत सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई कसुरका रूपमा कायम नगरिएकाले सो रकमलाई सम्पत्ति शुद्धीकरणको बिगोमा समावेश गर्न नमिल्ने आयोगको निष्कर्ष छ।

उक्त रकम घटाउँदा बाँकी ४ करोड ३९ लाख ८१ हजार ८८८ रुपैयाँ १४ पैसा हुन आउने आयोगले जनाएको छ। यसमा स्रोत प्रमाणित गर्न नसकेको तर कसुरबाट बढेबढाएको देखिएको थप ८ लाख ९७ हजार ९५३ रुपैयाँ ८४ पैसा समेत जोड्दा रामबाबु महतोविरुद्ध सम्पत्ति शुद्धीकरणतर्फ कुल बिगो ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

आयोगका अनुसार रामबाबुले भ्रष्टाचारबाट आर्जित रकम आफू तथा परिवारका सदस्यहरूको नाममा रहेका बैंक तथा सहकारीका खातामा जम्मा गरी ‘प्लेसमेन्ट’ गरेको देखिएको छ। त्यसपछि श्रीमती, साली र साढुभाइमार्फत जग्गा खरिदमा लगानी गरिएको तथा वास्तविक मूल्यभन्दा कम थैली कायम गरी नगद र बैंक चेकमार्फत मिश्रित रूपमा भुक्तानी गरिएको आयोगको दाबी छ।

त्यस्तै, सहकारी ऋण, बैंक कर्जा र बैना–बट्टा कागजको प्रयोग गरी रकमलाई विभिन्न तह र फरक–फरक ढाँचामा कारोबार गराएर ‘लेयरिङ’ गरिएको आयोगले जनाएको छ। यसरी अन्ततः कसुरबाट प्राप्त रकमबाट खरिद गरिएको जग्गालाई वैध सम्पत्तिका रूपमा देखाइएको आरोपपत्रमा उल्लेख छ।

आयोगका अनुसार कसुरबाट प्राप्त रकम मुद्दति निक्षेपमा राखी त्यसबाट प्राप्त ब्याजलाई वैध आम्दानीका रूपमा दाबी गर्ने आधारसमेत तयार गरिएको थियो। यसका साथै अन्य बिगोमा दाबी गरिएअनुसार सम्पत्ति बढेबढाएको र त्यस्ता सम्पत्तिहरू आफ्नो सम्पत्ति विवरणमा समेत उल्लेख गरेको देखिएको आयोगको निष्कर्ष छ।

आयोगले रामबाबु महतोले गैरकानुनी सम्पत्ति आर्जनबाट बढेको सम्पत्ति मात्र नभई समुच्चा सम्पत्तिको स्रोत, स्वरूप र स्वामित्व परिवर्तन गर्ने, हस्तान्तरण गर्ने तथा लुकाउने र छल्ने कार्यसमेत गरेको जनाएको छ। यसबाट गैरकानुनी आर्जनको समुच्चा रकमकै सम्पत्ति शुद्धीकरण गरेको तथ्य पुष्टि भएको आयोगको दाबी छ।

रामबाबु महतोविरुद्ध ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी बिगोको दोब्बर जरिवाना तथा कैद सजाय माग गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २८(२) र दफा ३४(१) बमोजिम सम्बन्धित जग्गाहरू जफत गर्न तथा दफा ३०(७) बमोजिम थप १० प्रतिशत सजाय गर्नसमेत मागदाबी लिइएको आयोगले जनाएको छ।

यसैगरी, रामबाबु महतोकी श्रीमती माला कुमारी महतोले समेत पति रामबाबुले भ्रष्टाचारबाट आर्जन गरेको अवैध सम्पत्तिबाट घरजग्गालगायत कारोबार तथा लगानी गरेको आयोगको आरोप छ । आयोगका अनुसार माला कुमारीले उक्त सम्पत्ति आफ्नो पतिले भ्रष्टाचारबाट प्राप्त गरेको तथा सोही कसुरबाट आयआर्जन भएको हो भन्ने थाहा हुँदाहुँदै त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, छल्ने तथा कसुरबाट प्राप्त सम्पत्तिको रुपान्तरण र स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भएको देखिएको छ।

यस आधारमा माला कुमारी महतोविरुद्ध पनि ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको छ। उनीविरुद्ध बिगोको दोब्बर जरिवाना र कैद सजायका साथै सम्बन्धित जग्गाहरू जफत गर्न मागदाबी गरिएको छ । माला कुमारी महतोकी सहोदर बहिनी रीना कुशवाहा र उनका पति कृष्ण प्रसाद मेहतालाई भने मुख्य कसुरदारको कसुरमा सहयोग, दुरुत्साहन, सहजीकरण, मतसल्लाह तथा सहभागिता जनाएको आरोप लगाइएको छ।

आयोगका अनुसार रामबाबु महतो र माला कुमारी महतोले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिबाट जग्गा खरिदमा रीना र कृष्ण प्रसादले समेत लगानी गरेका थिए। गैरकानुनी सम्पत्तिको रुपान्तरण तथा हस्तान्तरण गर्ने, त्यस्तो सम्पत्तिमाथिको अधिकार लुकाउने, छल्ने, बदल्ने, प्राप्त गर्ने, प्रयोग गर्ने तथा धारण गर्ने कार्यमा उनीहरूले सहयोग गरेको आयोगको दाबी छ।

त्यस्तै, गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत परिवर्तन तथा शुद्धीकरण गर्ने कार्यमा समेत उनीहरूले मतियारका रूपमा भूमिका खेलेको आयोगको निष्कर्ष छ।

यस आधारमा रीना कुशवाहा र कृष्ण प्रसाद मेहताविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) र (३) बमोजिम कसुर कायम गरी दफा ३० को उपदफा (२) अनुसार मुख्य कसुरदार रामबाबु महतो कोइरीलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T