Skip to content

अमेरिकामा मुद्रास्फीति स्थिर, फेडरल रिजर्भको ब्याजदर वृद्धि हुने, इन्धन मूल्यमा उछाल

काठमाडौं । अमेरिकी उपभोक्ता मुद्रास्फीति अगस्टमा ३.४ प्रतिशत कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङ्कले देखाएको छ । लगातार उच्च मूल्यका कारण विश्वको सबैभन्दा ठूलो अर्थ अमेरिकामा आगामी साता फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अपेक्षा बढाएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति यस वर्षको सुरुको तुलनामा अझै धेरै उच्च छ र फेडरल रिजर्भको दीर्घकालीन दुई प्रतिशत लक्ष्यभन्दा निकै माथि छ ।

महामारीपछि वर्षौंदेखि उच्च मूल्यले अमेरिकी परिवारहरूलाई पिरोलिरहेको छ । त्यसबेला उपभोक्ता मुद्रास्फीति ९.१ प्रतिशतसम्म पुगेको थियो। खाना र इन्धनजस्ता आधारभूत वस्तु किन्न सक्ने क्षमता नोभेम्बरको मध्यकालीन चुनावमा मुख्य मुद्दा बन्नेछ ।

फेडका केही नीतिनिर्माताहरूले अगस्टको मुद्रास्फीति तथ्याङ्कले मूल्यवृद्धि सुस्त नदेखाए ब्याजदर बढाउन तयार रहेको सङ्केत दिएका छन्। केन्द्रीय बैङ्कको ब्याजदर निर्धारण समितिको आगामी साता बैठक बस्दैछ ।

ब्याजदर बढाउने कुनै पनि कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वेखुश बनाउने छ । उनले फेडरल रिजर्भको स्वतन्त्रताविरुद्ध अभूतपूर्व अभियान चलाएको र आर्थिक गतिविधि बढाउन नीतिनिर्माताहरूलाई ब्याजदर घटाउन माग गर्दै आएका छन् ।

नेता ट्रम्पले अघिल्लो फेड अध्यक्ष जेरोम पावेलविरुद्ध आपराधिक अनुसन्धान सुरु गर्नुभएको छ भने अर्का गभर्नरलाई हटाउन खोजिरहेको देखिन्छ । फेडले ब्याजदर बढायो भने केही देशसँग व्यापार सम्बन्ध नै अवरूद्ध गर्ने चेतावनीसमेत गत साता उनले दिए ।

उच्च जीवन लागतका कारण ट्रम्प दबाबमा छन् । नोभेम्बरमा डेमोक्र्याटहरूले काङ्ग्रेसका दुवै सदनको नियन्त्रण लिन र उनको कार्यकालका अन्तिम दुई वर्षमा रिपब्लिकन एजेन्डा रोक्न खोजिरहेका छन् ।

इन्धन मूल्यमा उछाल

शुक्रबारको तथ्याङ्कअनुसार मासिक उपभोक्ता मूल्यवृद्धिको एक–तिहाइ हिस्सा इन्धन मूल्यवृद्धिले ओगटेको छ । ‘एएए मोटर क्लब’को तथ्याङ्कअनुसार फेब्रुअरीमा इरान युद्ध सुरु भएदेखि अमेरिकामा पेट्रोलको मूल्य ४४ प्रतिशतले बढेको छ ।

शुक्रबार अमेरिकामा डिजेल मूल्य प्रति ग्यालन (प्रति ४.५ लिटर)को अभूतपूर्व छ डलर पुगेको छ । यसले यातायात, कृषि र निर्माण लागत पनि बढाएको छ । अस्थिर इन्धन र खाद्यान्न मूल्यबाहेकको ‘आन्तरीक’ मुद्रास्फीति सूचकाङ्क अगस्टमा वार्षिक आधारमा २.४ प्रतिशतले बढेको छ ।

‘नेशनवाइड’का प्रमुख अर्थशास्त्री क्याथी बोस्ट्यान्सिकले नोटमा लेखे, “तेल, पेट्रोल र डिजेल मूल्यमा फेरि देखिएको वृद्धिले उच्च ऊर्जा मूल्य अन्य वस्तु र सेवा तथा मुद्रास्फीति अपेक्षासम्म फैलिन सक्ने चिन्ता बढाएको छ ।”

उनले आगामी साताको बैठकमा फेडले २५ आधार अङ्कले ब्याजदर बढाएर ३.७५ देखि ४.० प्रतिशतबीच पर्याउने अपेक्षा गरेका छन् । अक्सफोर्ड इकोनोमिक्सका बर्नार्ड यारोसले फेडरल रिजर्भको निर्णय ‘धारमा’ रहेको बताए ।

“अगस्टको सीपीआई रिपोर्टले समितिलाई ब्याजदर बढाउनेतर्फ उद्दत गर्नेछ तर यो अझै पक्का होइन,” उनले भने । उच्च मूल्यले अमेरिकी अर्थतन्त्रलाई कडा चोट पुर्याइरहेको छ । बिहीबारको सरकारी तथ्याङ्कअनुसार अगस्टमा थोक मुद्रास्फीति अपेक्षाभन्दा बढी पुगेको छ ।

फेडले तीन वर्षअघि अन्तिम पटक ब्याजदर बढाएको थियो । महामारीका बेला बढ्दो मूल्य नियन्त्रण गर्न सुरु गरेको वृद्धि चक्र त्यसबेला टुङ्ग्याएको थियो । मुद्रास्फीति सन् २०२२ को चरम बिन्दुबाट क्रमशः घटेको छ, तर यस अवधिमा कहिल्यै फेडको दुई प्रतिशत लक्ष्यमा भने पुग्न सकेको छैन । फेब्रुअरीमा २.४ प्रतिशतसम्म झरेको मुद्रास्फीति ट्रम्प प्रशासनको इरान युद्धका कारण फेरि तीन वर्षकै उच्च स्तरमा पुगेको छ ।

अमेरिका र इजरायलले युद्धको सुरुमा इरानमाथि आक्रमण गर्दा इरानी नेतृत्व (सर्वोच्च नेता) सहित कैयौँ उच्च पदस्थ अधिकारीको मृत्यु भएको थियो हजारौ अङ्गभङ्ग भएका थिए । यसले मध्यपूर्वलाई अराजकतामा धकेलेको थियो। आक्रमणको बदलामा तेहरानले अमेरिकी क्षेत्रीय मित्र राष्ट्रहरूलाई निसाना बनायो र महत्वपूर्ण ऊर्जा व्यापार मार्ग बन्द गर्यो ।

फेडले सन् २०२४ देखि क्रमशः ब्याजदर घटाएको थियो तर यस वर्ष मुद्रास्फीति बढेपछि र राष्ट्रपति ट्रम्पको भन्सार वृद्धिको असर अर्थतन्त्रमा देखिएपछि ३.५० देखि ३.७५ प्रतिशतबीच स्थिर राखेको छ ।

राष्ट्रपति ट्रम्पको लोकप्रियता ओरालो लागेका बेला बुधबार उनले नोभेम्बरको चुनावमा रिपब्लिकनहरूले काङ्ग्रेसका दुवै सदन जित्ने हो भने हरेक अमेरिकी वयस्कलाई ५ हजार डलरको ‘लाभांश’ दिने वाचा गर्नुभएको थियो । डेमोक्र्याटहरूले यस प्रस्तावलाई मत किन्ने उद्देश्यले दिइएको सहयोग भन्दै अस्वीकृत गरेका छन् ।

डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले पछिल्लो मुद्रास्फीति तथ्याङ्कबारे ट्रम्पको आलोचना गर्दै भने, “आजको तथ्याङ्कले अगस्ट महिनामा अमेरिकीहरूले आवास, हवाई भाडा र बाल हेरचाहमा अझै बढी तिर्नुपरेको छ भने उनीहरूको ज्याला लगातार पाँच महिनादेखि मुद्रास्फीतिसँग तालमेल राख्न नसकेको पुष्टि गर्छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T