काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीका लागि यसअघि विभिन्न मितिमा सार्वजनिक सूचना जारी गरी सेयर खरिदका लागि आवेदन माग गरेकोमा तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि उक्त सेयर अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था तथा निकायलाई बिक्री गर्न लागेको हो ।
बैंकले २०८३ साल भदौ २७ गते तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति तथा संस्थाबाट आवेदन आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार योग्य आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ। साथै, संस्थापक शेयर खरिद गर्न योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ ।
बैंकका अनुसार एकभन्दा बढी योग्य आवेदकबाट आवेदन प्राप्त भएमा बिक्रीमा राखिएको सेयर संख्याको सीमाभित्र रही प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको निर्णयअनुसार सेयर बिक्री तथा बाँडफाँट प्रक्रिया अघि बढाइनेछ ।
बैंकले आवेदन प्राप्त हुँदैमा सेयर बिक्री भएको नमानिने स्पष्ट पारेको छ। सेयर बिक्री तथा हस्तान्तरणको सम्पूर्ण प्रक्रिया प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा सम्बन्धित नियामकीय व्यवस्था पूरा भएपछि मात्र सम्पन्न हुने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्