काठमाडौं । अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ । चेक हस्तान्तरण गर्दै आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन् ।
उनले आईविवीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् ।
आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको स्पष्ट पारिन् । “हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,” सर्राफले भनिन् ।
उनका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्