काठमाडौं । भदौ १० गते न्दे खोला-टेकोसी-शूली-रायणी नदी प्रणालीमा आएको अत्यन्त तीव्र र अचानक बाढी वर्षाका कारण नभई हिम-ट्टानको पहिरो तथा त्यसपछि भएको भग्नावशेषको विस्थापनबाट सिर्जित भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको प्रारम्भिक प्राविधिक मूल्यांकनअनुसार बाढीको उत्पत्ति नेपाल-न सीमाबाट करिब २२ किलोमिटर माथि रहेको ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा भएको थियो । त्यहाँबाट बाढी रसुवागढी, स्याफ्रुबेंसी, रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै देवघाटमा नारायणी नदीमा मिसिएको थियो ।
प्रतिवेदनअनुसार बाढी उत्पत्तिको समय आसपास त्यस क्षेत्रमा वर्षा भएको कुनै अभिलेख छैन । यसैबीच, बिहान ८:३७ बजे २८.२७१ डिग्री उत्तरी अक्षांश र ८५.५१५ डिग्री पूर्वी देशान्तरमा ५.२ म्याग्निच्युडको भूकम्पीय घटना रेकर्ड भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणको सन् २०२६ को विवरणलाई आधार मान्दै उक्त भूकम्पीय घटना हिम–चट्टानको गतिशीलता तथा भग्नावशेष खस्ने प्रक्रियासँग सम्बन्धित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
वर्षाको अभाव र घटनाक्रमको विश्लेषणका आधारमा बाढी वर्षाबाट उत्पन्न सतही बहाव नभई हिम–चट्टानको पहिरो तथा त्यसपछि ठूलो मात्रामा भग्नावशेष विस्थापित हुँदा क्रमिक रूपमा सिर्जना भएको क्यास्केडिङ प्रभावको परिणाम हुन सक्ने निष्कर्ष निकालिएको छ ।
यो बाढीको सबैभन्दा असामान्य पक्ष यसको अत्यन्त तीव्र गति रहेको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक विवरणअनुसार बाढीको मूल स्रोत क्षेत्रबाट रसुवागढी सीमासम्म करिब २० किलोमिटर दूरी बाढीको लहरले जम्मा ७ देखि ८ मिनेटमै पार गरेको थियो ।
प्राविधिक विश्लेषणले यो अवस्था अत्यन्त तीव्र बाढी–लहर प्रसारणको उदाहरण भएको पुष्टि गरेको छ । बाढीको गति रसुवागढी सीमासम्म करिब १८८ किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ ।
अत्यन्त छोटो समयमा बाढीको लहर तल्लो क्षेत्रमा आइपुगेका कारण परम्परागत वर्षामा आधारित बाढी पूर्वानुमान प्रणालीबाट यस्ता उच्च हिमाली क्षेत्रमा अचानक उत्पन्न हुने बाढीको प्रभावकारी पूर्वसूचना दिन कठिन हुने अवस्था देखिएको छ ।
बाढीका क्रममा नदी करिडोरमा रहेका जलविज्ञानसम्बन्धी केही मापन केन्द्र तथा तिनसँग सम्बन्धित पूर्वाधारसमेत क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट भएका थिए । यसले बाढीको समयमा वास्तविक समयका तथ्यांक उपलब्ध गराउने क्षमतासमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना पाएको थियो । त्यसपछि स्थानीय गेज रिडरबाट पनि करिब बिहान ९ बजे सूचना प्राप्त भएको थियो ।
सूचना प्राप्त भएपछि बाढी पूर्वानुमान महाशाखाले स्थानीय प्रशासनसँग तत्काल घटनाको पुष्टि गरी आपत्कालीन चेतावनी प्रणाली सक्रिय गरेको थियो ।
त्यसपछि आधिकारिक सामाजिक सञ्जाल, एसएमएस, प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायसँगको टेलिफोन सम्पर्क, सञ्चारमाध्यम र फेसबुक लाइभमार्फत तत्काल चेतावनी तथा सूचना प्रवाह गरिएको थियो ।
बिहान ९ः५ बजेदेखि ९ः१४ बजेसम्म जम्मा ६ लाख ७८ हजार २९५ वटा एसएमएस नेपाल टेलिकम र एनसेलमार्फत पठाइएको प्रतिवेदनमा उल्लेख छ ।
यी सन्देश रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका त्रिशूली नदी करिडोर आसपासका मानिसलाई लक्षित गरी पठाइएको थियो ।
बाढीको लहर गल्छी, मलेखु, मुग्लिन हुँदै देवघाततर्फ अघि बढ्दै गर्दा निरन्तर निगरानी तथा तल्लो तटीय क्षेत्रमा चेतावनी प्रवाहको काम जारी राखिएको थियो ।
बाढीको लहर नारायणी नदी हुँदै देवघाट पुगेपछि त्यहाँ पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो । प्रतिवेदनअनुसार देवघाटमा पानीको सतह दिउँसो करिब ४ बजे उच्चतम विन्दुमा पुगेपछि क्रमशः घट्न थालेको थियो ।
प्रारम्भिक जलविज्ञानसम्बन्धी मूल्यांकनअनुसार देवघाटको नदी खण्डबाट करिब २० मिलियन घनमिटर (२ करोड घनमिटर) अतिरिक्त बाढीको पानी बगेको अनुमान गरिएको छ ।
भदौ १० को बाढीपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा थप दुईवटा अस्थायी प्राकृतिक अवरोधयुक्त ताल बनेका छन् । यी तालका प्राकृतिक अवरोध भत्किएमा पुनः आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ ।
तल्लो क्षेत्रमा बनेको लेक–१ ल्हेन्दे खोला र लिरुङ खोलाको संगम नजिक बनेको छ । यो ताल रसुवागढीबाट करिब १५ किलोमिटर माथि रहेको छ ।
त्यसैगरी, माथिल्लो क्षेत्रमा बनेको लेक–२ हिमनदी भत्किएको क्षेत्र नजिक बनेको छ । यो रसुवागढीबाट करिब २१ किलोमिटर माथि रहेको छ ।
यी दुवै प्राकृतिक तालका अवरोध कमजोर भई फुटेमा पुनः बाढीको लहर उत्पन्न हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
यस घटनाले उच्च हिमाली क्षेत्रमा वर्षामा आधारित पूर्वानुमान प्रणाली मात्र पर्याप्त नहुने र हिम–चट्टान पहिरो, हिमताल तथा अचानक हुने प्राकृतिक अवरोध भत्किने घटनालाई समेत समेटेर तत्काल सूचना तथा चेतावनी प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखाएको छ ।






प्रतिक्रिया दिनुहोस्