Skip to content

हिमचट्टान खस्दा भोटेकोसीमा बाढी, करिब २० मिलियन घनमिटर अतिरिक्त पानी बगेको अनुमान

देवघाटमा ६.५७ मिटर पानीको सतह

काठमाडौं । भदौ १० गते ल्हेन्दे खोला भोटेकोसी-त्रिशूली-नारायणी नदी प्रणालीमा आएको अत्यन्त तीव्र र अचानक बाढी वर्षाका कारण नभई हिमचट्टानको पहिरो तथा त्यसपछि भएको भग्नावशेषको विस्थापनबाट सिर्जित भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको प्रारम्भिक प्राविधिक मूल्यांकनअनुसार बाढीको उत्पत्ति नेपाल चीन सीमाबाट करिब २२ किलोमिटर माथि रहेको ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा भएको थियो । त्यहाँबाट बाढी रसुवागढी, स्याफ्रुबेंसी, रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै देवघाटमा नारायणी नदीमा मिसिएको थियो ।

प्रतिवेदनअनुसार बाढी उत्पत्तिको समय आसपास त्यस क्षेत्रमा वर्षा भएको कुनै अभिलेख छैन । यसैबीच, बिहान ८:३७ बजे २८.२७१ डिग्री उत्तरी अक्षांश र ८५.५१५ डिग्री पूर्वी देशान्तरमा ५.२ म्याग्निच्युडको भूकम्पीय घटना रेकर्ड भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणको सन् २०२६ को विवरणलाई आधार मान्दै उक्त भूकम्पीय घटना हिमचट्टानको गतिशीलता तथा भग्नावशेष खस्ने प्रक्रियासँग सम्बन्धित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

वर्षाको अभाव र घटनाक्रमको विश्लेषणका आधारमा बाढी वर्षाबाट उत्पन्न सतही बहाव नभई हिमचट्टानको पहिरो तथा त्यसपछि ठूलो मात्रामा भग्नावशेष विस्थापित हुँदा क्रमिक रूपमा सिर्जना भएको क्यास्केडिङ प्रभावको परिणाम हुन सक्ने निष्कर्ष निकालिएको छ ।

यो बाढीको सबैभन्दा असामान्य पक्ष यसको अत्यन्त तीव्र गति रहेको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक विवरणअनुसार बाढीको मूल स्रोत क्षेत्रबाट रसुवागढी सीमासम्म करिब २० किलोमिटर दूरी बाढीको लहरले जम्मा ७ देखि ८ मिनेटमै पार गरेको थियो ।

बाढीको गति रसुवागढी सीमासम्म करिब १८८ किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ ।

अत्यन्त छोटो समयमा बाढीको लहर तल्लो क्षेत्रमा आइपुगेका कारण परम्परागत वर्षामा आधारित बाढी पूर्वानुमान प्रणालीबाट यस्ता उच्च हिमाली क्षेत्रमा अचानक उत्पन्न हुने बाढीको प्रभावकारी पूर्वसूचना दिन कठिन हुने अवस्था देखिएको छ ।

बाढीका क्रममा नदी करिडोरमा रहेका जलविज्ञानसम्बन्धी केही मापन केन्द्र तथा तिनसँग सम्बन्धित पूर्वाधारसमेत क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट भएका थिए । यसले बाढीको समयमा वास्तविक समयका तथ्यांक उपलब्ध गराउने क्षमतासमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना पाएको थियो । त्यसपछि स्थानीय गेज रिडरबाट पनि करिब बिहान ९ बजे सूचना प्राप्त भएको थियो ।

सूचना प्राप्त भएपछि बाढी पूर्वानुमान महाशाखाले स्थानीय प्रशासनसँग तत्काल घटनाको पुष्टि गरी आपत्कालीन चेतावनी प्रणाली सक्रिय गरेको थियो ।

त्यसपछि आधिकारिक सामाजिक सञ्जाल, एसएमएस, प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायसँगको टेलिफोन सम्पर्क, सञ्चारमाध्यम र फेसबुक लाइभमार्फत तत्काल चेतावनी तथा सूचना प्रवाह गरिएको थियो ।

बिहान ९ः५ बजेदेखि ९ः१४ बजेसम्म जम्मा ६ लाख ७८ हजार २९५ वटा एसएमएस नेपाल टेलिकम र एनसेलमार्फत पठाइएको प्रतिवेदनमा उल्लेख छ । यी सन्देश रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका त्रिशूली नदी करिडोर आसपासका मानिसलाई लक्षित गरी पठाइएको थियो ।

बाढीको लहर गल्छी, मलेखु, मुग्लिन हुँदै देवघाततर्फ अघि बढ्दै गर्दा निरन्तर निगरानी तथा तल्लो तटीय क्षेत्रमा चेतावनी प्रवाहको काम जारी राखिएको थियो ।

बाढीको लहर नारायणी नदी हुँदै देवघाट पुगेपछि त्यहाँ पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो । प्रतिवेदनअनुसार देवघाटमा पानीको सतह दिउँसो करिब ४ बजे उच्चतम विन्दुमा पुगेपछि क्रमशः घट्न थालेको थियो ।

प्रारम्भिक जलविज्ञानसम्बन्धी मूल्यांकनअनुसार देवघाटको नदी खण्डबाट करिब २० मिलियन घनमिटर (२ करोड घनमिटर) अतिरिक्त बाढीको पानी बगेको अनुमान गरिएको छ ।

भदौ १० को बाढीपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा थप दुईवटा अस्थायी प्राकृतिक अवरोधयुक्त ताल बनेका छन् । यी तालका प्राकृतिक अवरोध भत्किएमा पुनः आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ ।

तल्लो क्षेत्रमा बनेको लेक–१ ल्हेन्दे खोला र लिरुङ खोलाको संगम नजिक बनेको छ । यो ताल रसुवागढीबाट करिब १५ किलोमिटर माथि रहेको छ ।

त्यसैगरी, माथिल्लो क्षेत्रमा बनेको लेक–२ हिमनदी भत्किएको क्षेत्र नजिक बनेको छ । यो रसुवागढीबाट करिब २१ किलोमिटर माथि रहेको छ ।

यी दुवै प्राकृतिक तालका अवरोध कमजोर भई फुटेमा पुनः बाढीको लहर उत्पन्न हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima