काठमाडौं । तीज पर्वलाई लक्षित गरी महिलाले प्रयोग गर्ने तथा लगाउने सारी, मेकअप, चुरा–पोतेलगायतका सामग्रीको आयातमा नेपालबाट ठूलो रकम बाहिरिएको छ। चालु आर्थिक वर्षको साउन महिनामा यस्ता सामग्रीहरूको आयातमा मात्रै २ अर्ब ५४ करोड २५ लाख ८७ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागकाे तथ्यांकले जनाएकाे छ ।
यस अवधिमा १ अर्ब १० करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको सारी लगायतका कपडा जन्य बस्तु आयात भएको छ। उक्त आयातबाट सरकारले ६२ करोड ७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, चुरा तथा पोतेको आयातमा ९ करोड २८ लाख ६५ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, मेकअप तथा अन्य कस्मेटिक सामग्रीको आयातमा मात्रै १ अर्ब २२ करोड ४८ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ।
आयात भएका सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी सामग्रीमा लिप मेकअप, आई मेकअप, नेल पोलिस, पाउडर, फेस क्रिम, बडी लोशन, स्याम्पु, कपालमा प्रयोग गर्ने तेल, हेयर डाई र हेयर कन्डिसनर लगायतका सामग्री रहेका छन्।
यसरी तीज पर्वलाई लक्षित गरी महिलाले प्रयोग गर्ने पहिरन, श्रृंगार तथा सौन्दर्य सामग्रीको आयातमा मात्रै चालु आर्थिक वर्षमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्