Skip to content

बाढीपहिरोको प्रभावले नेपाल पुनर्बीमाको रेटिङ घट्यो , नकारात्मक प्रभावको निगरानीमा राखियाे

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको इश्युअर रेटिङ घटेको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कम्पनीको रेटिङ ‘इक्रा एनपी आईआर ए’ बाट घटाएर ‘इक्रा एनपी आईआर ए–’ कायम गरेको हो । कम्पनीको रेटिङमा ‘नकारात्मक प्रभावसहित निगरानी’ भने कायमै राखिएको छ।

इक्रा नेपालले ३ सेप्टेम्बर २०२६ मा सार्वजनिक गरेको रेटिङअनुसार नेपाल पुनर्बीमा कम्पनीको रेटिङ घटाउनुको मुख्य कारण भदौ १० गते आएको विनाशकारी आकस्मिक बाढी हो । बाढीको कारण कम्पनीको वित्तीय अवस्थामा पर्न सक्ने सम्भावित ठूलो प्रभावका कारण रेटिङ घटेको कम्पनीले जनाएको छ ।

उक्त बाढीका कारण ठूलो मानवीय क्षति भएको तथा नदी बेसिन क्षेत्रमा रहेका करिब ७०० मेगावाट जडित क्षमताका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको इक्रा नेपालले जनाएको छ। साथै, भन्सार जाँचपासको प्रतीक्षामा रहेका निजी तथा व्यावसायिक सवारीसाधनसहित अन्य विभिन्न बीमायोग्य सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।

बाढीका कारण समग्र बीमा दाबीको रकम बढ्ने र त्यसमा नेपाल पुनर्बीमा कम्पनीको हिस्सासमेत बढ्न सक्ने इक्रा नेपालको आकलन छ । यस्तो अवस्थामा विपद्जन्य घटनाबाट हुने क्षति व्यवस्थापनका लागि कम्पनीले गरेको पुनर्बीमा सुरक्षा पर्याप्त नहुन सक्ने जोखिम रहेको छ । यसले कम्पनीको यसअघि नै कमजोर बनेको खुद सम्पत्तिमा थप दबाब पर्न सक्ने इक्रा नेपालले जनाएको छ ।

कम्पनीको खुद सम्पत्ति यसअघि नै २०२५ सेप्टेम्बरमा भएको दंगासँग सम्बन्धित बीमा दाबीका कारण कमजोर बनेको थियो । त्यसमा बाढीबाट थप दाबी परेमा कम्पनीको वित्तीय अवस्था र तरलतामा थप असर पर्न सक्ने देखिएको छ ।

बीमा प्राधिकरणको सूचनाअनुसार भदौ १५ गतेसम्म बाढीसँग सम्बन्धित कुल २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । यद्यपि, अन्तिम रूपमा कति रकम बराबरको दाबी कायम हुन्छ भन्ने कुराले नेपाल पुनर्बीमा कम्पनीको वित्तीय तथा तरलता अवस्थामा पर्ने वास्तविक प्रभाव निर्धारण गर्ने इक्रा नेपालले जनाएको छ। त्यसैले अन्तिम दाबी रकमलाई कम्पनीको रेटिङका लागि महत्वपूर्ण निगरानीको विषय बनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T