काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको नयाँ लहर चलाएको इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले सोमबार दाबी गरेको छ ।
दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोट भएको तथा सीमावर्ती सहरका बासिन्दालाई सुरक्षा चेतावनी जारी गरिएको बताइएको छ ।
अल जजिराका अनुसार साउदी नागरिक सुरक्षाले दक्षिणपश्चिमी क्षेत्रका खामिस मुशैत र आभाका बासिन्दालाई एक घण्टाभित्र दोस्रोपटक चेतावनी जारी गरेको थियो । यमनको सीमासँग नजिक रहेका यी दुवै सहरमा हुथी आक्रमणको जोखिम बढेको बताइएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले आइतबार साउदी अरबको शारुराहस्थित सैन्य अड्डाको हतियार भण्डार तथा कमान्ड र नियन्त्रण कक्षमा आक्रमण गरेको दाबी गरे । अल जजिराका अनुसार साउदी सीमामा भएका हुथी आक्रमणमा दुई जना घाइते भएका छन् ।
यसैबीच, यमनको पश्चिमी तटका अस्पतालहरू हिंसा र स्वास्थ्य प्रणालीमा आएको अवरोधका कारण सेवा सञ्चालन गर्न कठिनाइमा परेका छन् । ‘डक्टर्स विदाउट बोर्डर्स’ का यमन निर्देशक लु कोर्म्याकले केही अस्पताल पुनः सञ्चालनमा आए पनि स्वास्थ्यकर्मी र अन्य जनशक्तिको ठूलो अभाव रहेको बताए । उपचारका लागि पर्याप्त स्वास्थ्य सुविधा नहुँदा सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने उनले बताए ।
हुथीले लाल सागर र बाब अल–मन्देब जलघाँटीमा साउदी अरबको तेल निर्यातसँग सम्बन्धित जहाजलाई समेत लक्षित गर्दै आएको अल जजिराले जनाएको छ । सीबीएस न्युजका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले हुथीविरुद्ध सैन्य कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेको थियो, तर उनले आग्रह अस्वीकार गरेको बताइएको छ ।
यसैबीच, नयाँदिल्लीमा जारी ब्रिक्स घोषणामा साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्ससहित सदस्य राष्ट्रहरूले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेका छन् । घोषणामा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान तथा स्थायी शान्तिका लागि संवाद र कूटनीतिक प्रयासमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्