काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षतिको क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा केन्द्रित भएर पूर्वतयारी र पूर्वाधारमा लगानी गर्नुपर्ने बताएकी छन् ।
घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी निकाय तथा विज्ञहरूको सहभागितामा भदौ ३० र ३१ गते आयोजना गरेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै डंगोलले जलवायु परिवर्तनका कारण विश्वभर नकारात्मक असर बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि विज्ञानसम्मत उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले जलवायु परिवर्तनका कारण प्रकृति, प्राणी तथा वनस्पतिको प्रणालीसँगै मानिसको जीवनशैलीमा समेत व्यापक परिवर्तन आएको बताइन् । विपद्, रोगव्याधी, प्राकृतिक असन्तुलन, तापक्रममा अनपेक्षित वृद्धि तथा जैविक विविधता र वासस्थानमा आएको परिवर्तनले विश्वको भविष्यप्रति नै चिन्ता सिर्जना गरेको उनको भनाइ छ ।
डंगोलले जलवायु परिवर्तनका असरबारे छलफल गर्दा असर परिसकेपछि क्षतिपूर्ति दिनेभन्दा असर नै नआउने गरी कारण पहिचान गरेर त्यसतर्फ लगानी बढाउनुपर्ने धारणा राखिन् । उनका अनुसार वातावरणीय न्याय उपचारात्मकभन्दा वितरणात्मक न्यायमा केन्द्रित हुनुपर्छ ।
हालैको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई समेत दृष्टिगत गर्दै आगामी दिनमा बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि तथा महामारीजस्ता विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले बताइन् ।
नेपालका हिमाल, पहाड, तराई, उपत्यका र बेँसी सबै क्षेत्र जलवायु परिवर्तनको प्रभावमा रहेको उल्लेख गर्दै डंगोलले स्थानअनुसार जोखिमको प्रकृति र कारण फरक भए पनि कुनै पनि क्षेत्र पूर्णरूपमा सुरक्षित नरहेको बताइन् ।
सम्मेलनमा भौतिक रूपमा उपस्थित भएर योगदान गर्ने आफ्नो तीव्र इच्छा भए पनि प्राविधिक कारणले सहभागी हुन नसकेकोमा दुःख व्यक्त गर्दै उनले सम्मेलनको सफलताको शुभकामना दिएकी छन् ।
डंगोलले जलवायु परिवर्तनका विविध पक्षमा केन्द्रित भएर सम्मेलनमा गहन विमर्श हुने विश्वास व्यक्त गर्दै सम्मेलन आयोजना गरेकोमा घरपझोङ गाउँपालिकालाई बधाई तथा धन्यवाद दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्