Skip to content

नेपाल विश्वकै सुरक्षित पर्यटकीय गन्तव्यमध्ये एक हो, ढोरपाटनजस्ता अधिकांश स्थलहरू सुरक्षित, शान्त र खुला छन्: व्यवसायी ढकाल

पर्यटक नेपाल हेर्न मात्र जाँदैनौँ, नेपाल पुगेपछि मनमै बोकेर फर्किन्छौँ भन्छन्, यस्ता अभिव्यक्ति सुन्दा लाग्छ, हामी संसारकै भाग्यमानी नागरिक हौँ

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाल विश्वकै सुरक्षित पर्यटकीय गन्तव्यमध्ये एक भएको जनाएका छन् ।

जहाँ जोखिम छ, त्यहाँ पर्याप्त मात्रामा सावधानी र पूर्वतयारी पनि हुने जनाएका छन् । अहिले पनि ढोरपाटनजस्ता देशका अधिकांश पर्यटकीय स्थलहरू पूर्ण रूपमा सुरक्षित, शान्त र खुला रहेको जनाएका छन् ।

हाल बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटनको भ्रमणमा रहेका उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले सामाजिक सन्जालमा यस्तो लेखेका हुन् ।

उनले सामाजिक सन्जालमा यस्तो लेखेका छन् ”म यतिखेर बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटनमा छु। यहाँको प्रकृति र पर्यावरणको त म शब्दमा बयान नै गर्न सक्दिन। हामीसँग यस्ता कैयौँ अद्वितीय पर्यटकीय सम्पदा छन्, जो संसारकै सबैभन्दा उत्कृष्ट गन्तव्यमा पर्दछन्।

यहाँ सगरमाथा छ, बुद्धको जन्मभूमि लुम्बिनी छ, अनुपम सभ्यता बोकेका प्रकृति र सांस्कृतिक सम्पदा छन्। हिमालका काखैमा बसेर मुस्कुराइरहेका सुन्दर गाउँहरू छन्। प्रकृतिसँगै मानिसको मन छुने आत्मीयता छ, अनि बहुसंस्कृतियुक्त परम्परा र भेषभूषा छन्।

त्यसैले हामीलाई लाग्छ—नेपाल आउनु भनेको केवल एउटा देश देख्नु होइन, हिमाललाई नजिकबाट चिन्नु, सांस्कृतिक विविधताको महसुस गर्नु र प्रत्यक्ष अलौकिक प्रकृतिसँग संवाद गर्नु पनि हो। त्यसैले त विदेशी पर्यटकहरू भन्ने गर्नुहुन्छ— “हामी नेपाल हेर्न मात्र जाँदैनौँ, एक पटक नेपाल पुगेपछि नेपाललाई मनमै बोकेर फर्किन्छौँ।” यस्ता अभिव्यक्ति सुन्दा लाग्छ, हामी प्रकृतिको वरदान प्राप्त संसारकै सबैभन्दा भाग्यमानी नागरिक हौँ।

तर यतिखेर भने हामी घाइते छौँ। भोटेकोशी बाढीको विनाशले सयौँको ज्यान लिएको छ, हजारौँलाई बेपत्ता र घरबारविहीन बनाएको छ। नेपाल हिमालको देश, प्राकृतिक छटाहरूले सुसज्जित भूमि भएकाले कहिलेकाहीँ प्रकृति कठोर पनि हुने रहेछ, जुन कठोरता अहिले हामी भोगिरहेका छौँ।

तर, एउटा क्षेत्र विशेषमा आएको प्राकृतिक विपत्तिका कारण सम्पूर्ण नेपाललाई असुरक्षित ठान्नु हुँदैन। नेपाल विश्वकै सुरक्षित पर्यटकीय गन्तव्यमध्ये एक हो। जहाँ जोखिम छ, त्यहाँ पर्याप्त मात्रामा सावधानी र पूर्वतयारी पनि छ। अहिले पनि ढोरपाटनजस्ता देशका अधिकांश पर्यटकीय स्थलहरू पूर्ण रूपमा सुरक्षित, शान्त र खुला छन्।

हामी जस्तोसुकै विपत्तिबाट पनि फेरि उठ्न सक्ने अदम्य साहसी नेपाली हौँ। यस्तो कठिन समयमा तपाईंहरू नेपाल आइदिनुभयो भने त्यसले स्थानीय जनजीवनलाई ठूलो सहारा मिल्नेछ र हाम्रो अर्थतन्त्रलाई फेरि गति दिनेछ।

आउनुहोस्, नेपाल भ्रमण गरेर नेपालीलाई साथ दिनुहोस् र सुन्दर प्रकृतिसँग रमाउनुहोस्। नेपाल तपाईंको स्वागतका लागि सधैँ खुला छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima