काठमाडौं । देशभर असोज ८ देखि १२ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको छ ।
अहिले पनि मौसममा सुधार आइसकेको छैन । देशका विभिन्न स्थानमा बर्षा कायमै छ । हाल भइरहेको भन्दा ठूलो बर्षा ८ देखि १२ गतेसम्म हुने बताइएको छ ।
५ दिन हुने बर्षाको प्रभाव पूर्वदेखि पश्चिमसम्म पर्नेछ । देशका धेरै स्थानमा भीषण वर्षा हुने देखिएकाले समयमै पूर्वतयारी तथा सतर्कता अपनाउनु पर्ने मौसमविद् विनोद पोखरेलको सुझाव छ ।
उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो ।
किसान, यात्रु तथा सर्वसाधारणलाई समयमै आवश्यक तयारी गर्न उनले आग्रह गरेका छन् । किसानलाई अन्नबाली जोगाउन सम्भव तयारी गर्न उनले अनुरोध गरेका छन्।
‘अर्को हप्ता पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ,’ पोखरेलले सामाजिक सन्जाल मार्फत भनेका छन्, ‘यो सूचना किसानसम्म पुर्याऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस्।’








प्रतिक्रिया दिनुहोस्