Skip to content

उत्पादन बढेपछि केरा किसानले पाएनन् उचित मूल्य

चितवन । केराको उत्पादन बढेसँगै  उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् ।
केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने डरले किसान चिन्तामा छन् । गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिसँगै  किसानले उत्पादन बढाएका थिए ।
नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले तीनदेखि चार रुपैयाँमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताए ।
“केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,”  उनले भने, “प्रतिकोसा नौ रुपैयाँसम्ममा बिक्री भएका केरा अहिले चार रुपैयाँमा झरेको छ ।”
देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा दुई हजार बेर्ना रोप्न सकिन्छ । एउटा बिरुवामा १०० देखि २०० कोसासम्म  केरा फल्छ । नेपाल केरामा आत्मनिर्भर छ । केरा आयात रोकिएपछि किसानले तीन हजार बिघा थप गरी खेती गर्न सुरु गरे । आउँदो वर्ष केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ ।
काठमाडौँ, पोखरा, नेपालगञ्जलगायत  स्थानमा केराको मूल्य घटेको छ । समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा सो स्थानमा मूल्य घटेको हो । फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएका छन् ।
केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको छ । दसैँ, तिहार र छठसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ । फागुनपछि मूल्य बढ्ने अनुमान छ ।  चितवनमा सुपरजोन क्षेत्रमा एक हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ । यो नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हो ।
केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नलैजाने र सस्तोमा लगेको महँगोमा बेच्दा समस्या भएको बताए । उपभोक्ताले हाल पनि जी नाइन केरा प्रतिदर्जन  १०० भन्दा बढीमा खरिद गर्न बाध्य भएका छन् ।
केरा बिक्री नहुँदा बारीमा बिग्रने सम्भावना बढेको छ । भोटेकोशी–त्रिशूली बाढीलगायत कारण राजधानी लगायतका ठूला बजारमा बिक्रीका लागि  केरा पठाउन नसक्दा मूल्य घटेका हो ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शङ्कर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा पुग्न नसक्दा मूल्य घटेको बताए । सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गरेका थिए । यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन लागेको उनले बताए ।
उत्पादित केराको मूल्य लागत मूल्यभन्दा तल नगए नेपालका किसानले  केरामा सहजै आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ । नेपालमा एक जना किसानले १०० बिघा क्षेत्रफलसम्म केरा लगाएको महासङ्घको तथ्याङ्कमा छ । गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।
उक्त  निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसैसँग उत्साहित भएका किसानले केरा खेती वढाएका हुन् । नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima