Skip to content

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

कास्की । सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए ।

उनका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । “ सरकारको नीतिअनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पसल सञ्चालनमा ल्याएका हौँ । यो पसल दुई महिनासम्म सञ्चालन हुनेछ । बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराएका छौँ”, उनले भने ।

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु एक सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी रु १४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।

पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा सस्तोमा खाद्य सामग्री खरिद गर्न पाएको बताए । विशेषगरी चिनीमा उल्लेख्य सहुलियत पाएको उनको भनाइ छ । “यस्तो महँगीको बेला सस्तोमा सामान किन्न पाउँदा धेरै खुसी लागेको छ । अरुभन्दा चिनी यहाँ धेरै नै सस्तो रहेछ”, उनले भने ।

गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima