काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराइरहेका छन् ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । सङ्घीय संसद् सचिवालयका अनुसार आजका लागि निर्धारित विभिन्न समितिका बैठक स्थगन भएका छन् ।
यस्तै आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
भोटेकोशी बाढीले एक दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ । घटनापछि सरकारको तर्फबाट ऊर्जा मन्त्रालयले गरेका कार्यहरु र अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए ।
उनकाअनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्