काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेको प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को कालो चस्माले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। उनको कालो चस्मा र सार्वजनिक छविबारे अमेरिकाको सञ्चारमाध्यम ‘द न्यूयोर्क टाइम्स’मा समेत चर्चा भएको छ ।
भाषण तथा सार्वजनिक कार्यक्रममा शाह प्रायः कालो रंगको चस्मा, सुट र परम्परागत नेपाली टोपीमा देखिने गरेका छन्। उनको यही विशिष्ट पहिरन शैलीले पछिल्लो समय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान खिचेको हो ।
उक्त सञ्चारमाध्यमले शाहले आफ्नो सार्वजनिक छविलाई योजनाबद्ध ढंगले प्रस्तुत गर्ने गरेको उल्लेख गरिएको छ । बालेन क्यामेरासामु तथा विदेशी राजदूतहरूसँगको भेटमा प्रायः चस्मा लगाउँछन् भने मन्त्रिपरिषद् बैठक तथा निजी छलफलका क्रममा चस्मा हटाउने गर्छन् ।
शाहले पत्रकार सम्मेलन तथा अन्तर्वार्ताभन्दा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने शैली अपनाउँदै आएका छन्। यही कारण उनको कालो चस्मासहितको पहिरन शैली उनको सार्वजनिक पहिचानसँग जोडिएको देखिने उक्त सञ्चार माध्यममा उल्लेख छ ।
‘उनको चस्माको शैली यति चर्चित बनेको छ कि यसको प्रभाव बजारमा समेत देखिन थालेको छ। नेपालको प्रमुख अनलाइन बजार दराजमा ‘बालेन शाह सनग्लास’ भनेर खोज्दा शाहको चस्माको शैलीसँग मिल्दोजुल्दो विभिन्न डिजाइनका चस्मा बिक्रीका लागि राखिएको देखिन्छ।’ उक्त समाचारमा भनिएको छ ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका छन् । उनले उक्त सभामा सहभागी हुँदा पनि कालो चस्मा प्रयोग गरेको देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्