Skip to content

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

रौतहट । अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भू–भाग प्रभावित भएको छ ।
सो नदीमा पानीको बहाव बढेसँगै तटबन्ध आसपासका क्षेत्रमा कटान भइरहेकाले तटबन्ध भत्की नदीको पानी बस्ती तथा खेतीयोग्य जमिनमा पस्नसक्ने जोखिम बढेको छ ।
यसैबीच, निरन्तरको वर्षासँगै आएको बाढीले स्थानीय जनजीवन प्रभावित भइरहेको अवस्थामा जिल्ला प्रशासन तथा स्थानीय जनप्रतिनिधि सम्मिलित टोलीले आजै जोखिम क्षेत्रको अवलोकन गरी बाढी प्रभावित स्थानीयलाई आश्वस्त रहन अनुरोध गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहित सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साहलगायत जनप्रतिनिधि सम्मिलित टोलीले तटबन्ध तथा कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी बाढी प्रभावित क्षेत्रको जनतासँग आज छलफल गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले मर्यादपुरस्थित लालबकैया नदीको तटबन्ध भत्किएमा मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहित आसपासका बस्ती प्रभावित हुनसक्ने भनी सचेत गराउँदै प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थासहित आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरी तटबन्धको अवस्था तथा नदीको बहावबारे निरन्तर अनुगमन गर्न निर्देशन दिएको जानकारी दिँदै वर्षाको समयमा सचेत र सजग रहन प्रभावित  क्षेत्रका जनतासँग अनुरोध गरे ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयले फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध पनि कटानमा परेकाले त्यसबाट प्रभावित आसपासका क्षेत्रसहित सदरमुकाम गौरसम्मका जनतालाई पनि सजकता अपनाउन अनुरोध गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima