काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीकै मर्म र भावना बुझ्नुको सट्टा उनीहरूकै बदनाम गरिरहेको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले जेनजी आन्दोलनको आडमा बनेको सरकारले नै जेनजीलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको आरोप लगाए। ‘सरकारले जेनजीलाई चाहिँदा भाँडो र नचाहिँदा ठाँडो बनाएको छ,’ उनले भने।
सरकारले आफ्ना विरोधीलाई तर्साउने, धम्क्याउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको आरोप लगाउँदै महरले यस्तो गतिविधि कानुनी राज्य र विधिको शासनको मर्मविपरीत भएको बताए ।
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको विषयमा पनि सरकारको आलोचना गरे । जबरालाई मध्यरातमा घरबाटै ‘गुण्डागर्दी शैली’मा पक्राउ गरिएको दाबी गर्दै उनले उक्त घटनालाई ‘राज्य आतंकको बर्बर नमुना’ भएको टिप्पणी गरेका छन् ।
‘सरकारले फ्रान्सका राजा लुई चौधौँले भनेझैँ म नै राज्य हुँ भन्ने शैलीमा पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेको छ,’ महरले भने, ‘सरकारले नै कानुनी राज्य र विधिको शासनको उल्लंघन गरिरहेको छ ।’
सरकार कानुनी राज्य र विधिको शासन कमजोर बनाउन नभई त्यसलाई बलियो बनाउन बनेको हुनुपर्ने उनको भनाइ थियो। कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने भन्दै उनले तथ्य र कानुनका आधारमा मात्रै पक्राउ गर्नुपर्ने बताए।
‘कानुनभन्दा माथि र प्रश्नभन्दा माथि कोही पनि हुँदैन। सरकारले तथ्य र कानुनका आधारमा जोकोहीलाई पक्राउ गर्न सक्छ। राज्यलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ,’ उनले भने।
तर, सरकारले पूर्वाग्रहका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्मलाई पक्राउ गरेको आरोप महरले लगाए । उनले नेकपा एमालेका नेता विष्णु पौडेललगायतका व्यक्तिलाई समेत सुर्खेत गएको बेला एकाएक पक्राउ गरिएको दाबी गरे ।
सरकार गठन भएदेखि नै कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठ्ने गरी श्रृंखलाबद्ध गतिविधि भइरहेको आरोप लगाउँदै महरले सरकारलाई यस्ता गतिविधि रोक्न आग्रह गरे।









प्रतिक्रिया दिनुहोस्