काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर आगामी दशैं–तिहारका लागि आवश्यक वस्तुको आपूर्तिमा पर्नसक्ने भन्दै प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्राकृतिक विपत्तिका कारण रसुवाको केरुङ र मुस्ताङको कोरला नाका प्रभावित भएका छन् । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण केरुङ नाका प्रभावित भएको छ भने अविरल वर्षाका कारण मुस्ताङको कोरला नाका पनि बन्द भएको सांसदहरूले बताएका छन् ।
यी दुई प्रमुख नाका प्रभावित भएपछि चीनबाट आयात हुने वस्तुको आपूर्ति थप कठिन बनेको भन्दै सांसदहरूले तुलनात्मक रूपमा सहज रूपमा सञ्चालन गर्न सकिने तातोपानी नाकालाई तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भरतप्रसाद पराजुलीले प्राकृतिक विपत्तिका कारण चीनतर्फका प्रमुख व्यापारिक नाका प्रभावित हुँदा चाडपर्वको समयमा आवश्यक वस्तुको आपूर्तिमा समस्या आउनसक्ने बताए ।
उनले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण केरुङ नाका प्रभावित भएको र मुस्ताङको कोरला नाका पनि अविरल वर्षाका कारण बन्द भएको जानकारी गराए।
‘केरुङ र कोरला नाकाको समस्या भएपछि ती सामान खासा (तातोपानी) नाकाबाट ल्याएर बिक्री गर्न सकिने अवस्था बनाउन सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘तर उच्च जोखिम भन्दै चीनतर्फबाट तातोपानी नाका पनि अघोषित रूपमा बन्द गरिएको छ।’
सांसद पराजुलीका अनुसार केरुङ र कोरला नाका प्रभावित भएपछि चीनबाट आयात हुने सामानका लागि तातोपानी नाका महत्वपूर्ण वैकल्पिक मार्ग बन्न सक्छ। तर, उच्च जोखिमको कारण देखाउँदै चीनतर्फबाट तातोपानी नाकाबाट समेत सामान आयातमा रोक लगाइएपछि व्यवसायी तथा आयातकर्ताले थप समस्या भोग्नुपरेको उनले बताए।
नाका बन्द हुँदा चाडपर्वका लागि आवश्यक सामान बोकेर आएका हजारौँ कन्टेनर सीमावर्ती क्षेत्रमा प्रभावित भएर बसेको उनले बताए । अन्य नाका तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था रहे पनि तातोपानी नाका तुलनात्मक रूपमा सहज रूपमा सञ्चालन गर्न सकिने भएकाले त्यसका लागि सरकारले चीनसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
चाडपर्वका समयमा बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले आयात प्रभावित हुँदा त्यसको असर बजारमा पर्नसक्ने सांसद पराजुलीले बताए। त्यसैले दशैं–तिहारअघि नै आपूर्ति व्यवस्था सहज बनाउन सरकारले वैकल्पिक व्यापारिक मार्गको प्रयोग तथा बन्द रहेका नाका सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने उनले जोड दिए।
उनले प्राकृतिक विपत्तिका कारण प्रभावित भएका नाकाको अवस्थाबारे चीनसँग आवश्यक समन्वय गरी व्यापारिक गतिविधि सहज बनाउन सरकारको ध्यान जानुपर्ने बताए।
विशेषगरी केरुङ र कोरला नाका तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था भए तातोपानी नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न सकिने वातावरण बनाउनुपर्ने उनको माग छ।
चाडपर्वका लागि आवश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले चीनसँग कूटनीतिक तहमा पहल गरी तातोपानी नाका सकेसम्म छिटो सञ्चालनमा ल्याउनुपर्ने सांसद पराजुलीले बताए ।









प्रतिक्रिया दिनुहोस्