Skip to content

बालेन सरकारलाई तीनमहलेसहित हानको १ दर्जन सुझावः होटललाई उद्योगसरह मान्यता र भारतबाट आउने पर्यटकको गणना गर्नु पर्ने

काठमाडौं । होटल संघ नेपाल ९हान० ले सरकारलाई पर्यटन क्षेत्रको विकास र विस्तारका लागि तीनमहलेसहित १२ बुँदे सुझाव दिएको छ। होटललाई उद्योगसरहको सुविधा दिनुपर्ने, भारतबाट स्थलमार्ग हुँदै आउने पर्यटकको व्यवस्थित गणना गर्नुपर्ने, पाँच वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित राष्ट्रिय पर्यटन कार्ययोजना बनाउनुपर्नेलगायतका सुझाव हानले सरकारलाई दिएको हो।

हानका अध्यक्ष विनायक शाहका अनुसार सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेटमार्फत पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे पनि त्यसअनुसार आवश्यक नीति, कार्यविधि र कार्यान्वयनमा अझै सुधार आवश्यक छ।

हानले पहिलो सुझावका रूपमा होटललाई उद्योगको मान्यता दिएपछि उद्योगसरहका सुविधा उपलब्ध गराउन माग गरेको छ। सरकारले होटललाई उद्योगका रूपमा मान्यता दिइसकेको भए पनि उद्योगले पाउने सुविधा व्यवहारमा उपलब्ध हुन नसकेको शाहले बताए। त्यसका लागि आवश्यक नीति तथा कार्यविधि बनाएर तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

विशेषगरी होटललाई उद्योगसरह विद्युत्को सुविधा दिनुपर्ने हानको माग छ। अहिले होटलले व्यावसायिक दरमा प्रतियुनिट करिब १६–१७ रुपैयाँसम्म विद्युत् शुल्क तिर्नुपरेको भन्दै शाहले उद्योगसरह सुविधा पाएमा तुलनात्मक रूपमा सस्तो विद्युत् उपलब्ध हुने बताए।

‘नेपाल आउने पर्यटकले यहाँको खर्चलाई छिमेकी मुलुकसँग तुलना गर्छन्। नेपालमा पर्यटन सेवा महँगो भयो भने हामी प्रतिस्पर्धामा कमजोर हुन्छौँ,’ उनले भने, ‘त्यसैले होटललाई उद्योगसरहको सुविधा दिन आवश्यक छ।’

अनौपचारिक पर्यटन व्यवसाय नियमन गर्नुपर्ने

हानले पर्यटन क्षेत्रमा बढ्दै गएको अनौपचारिक व्यवसायलाई नियमनको दायरामा ल्याउनुपर्ने मागसमेत गरेको छ। काठमाडौं, भक्तपुर, पाटनदेखि चितवनलगायतका पर्यटकीय क्षेत्रमा घर–घरमा होमस्टे, बेड एन्ड ब्रेकफास्टलगायतका व्यवसाय सञ्चालन भइरहे पनि तीमध्ये कतिपय दर्ता र नियमनबाहिर रहेको शाहले बताए।

औपचारिक होटल व्यवसायले सरकारका नीति, नियम तथा मापदण्ड पालना गर्दै कर तिर्नुपर्ने तर अनौपचारिक क्षेत्रले त्यसअनुसारको दायित्व पूरा नगर्दा असमान प्रतिस्पर्धा सिर्जना भएको उनको भनाइ छ।

‘अनौपचारिक क्षेत्र बन्द गर्नुपर्छ भन्ने होइन, तर त्यसलाई व्यवस्थित रूपमा नियमनको दायरामा ल्याउनुपर्छ,’ शाहले भने।

पाँच वर्षमा ५० लाख पर्यटक भित्र्याउने योजना बनाउन माग

हानले आगामी पाँच वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित राष्ट्रिय पर्यटन मास्टर प्लान तथा कार्ययोजना बनाउन सरकारसँग माग गरेको छ।

शाहका अनुसार नेपालमा अहिले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने होटल तथा पर्यटन पूर्वाधारको क्षमता विकास भइसकेको छ। तर पर्यटक आगमन भने त्यसको तुलनामा निकै कम छ।

‘हामीसँग अहिले ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ, तर पर्यटकको संख्या १२ लाख हाराहारी मात्रै छ। यसको अर्थ हाम्रो क्षमताको करिब एकतिहाइ मात्रै उपयोग भइरहेको छ,’ उनले भने।

नेपाल चीन र भारतको बीचमा रहेकाले ती दुई मुलुकबाट ठूलो संख्यामा पर्यटक ल्याउन सकिने उनको भनाइ छ। त्यसका लागि हवाई तथा सडक कनेक्टिभिटी सुधार गर्नुपर्ने, विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र राष्ट्रिय पर्यटन रणनीति आवश्यक रहेको उनले बताए।

भारतबाट स्थलमार्ग हुँदै आउने पर्यटकको गणना गर्न माग

हानले भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको तथ्यांक व्यवस्थित रूपमा राख्नुपर्ने मागलाई पनि प्राथमिकतामा राखेको छ।

शाहका अनुसार अहिले हवाईमार्गबाट आउने पर्यटकको तथ्यांक राखिए पनि स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको तथ्यांक व्यवस्थित रूपमा राख्ने प्रणाली प्रभावकारी छैन।

‘झापादेखि महेन्द्रनगरसम्म ठूला होटल खुलेका छन्। होटलका क्यासिनोमा शुक्रबार, शनिबार र आइतबार ठूलो संख्यामा भारतीय नागरिक आउँछन्,’ उनले भने, ‘तर उनीहरूले नेपालमा गर्ने खर्च र उनीहरूको संख्या पर्यटन तथ्यांकमा पूर्ण रूपमा समेटिएको छैन।’

स्थलमार्गबाट आउने पर्यटकको गणना व्यवस्थित गर्न सके नेपालमा आउने पर्यटकको वास्तविक संख्या अहिले देखिएको तथ्यांकभन्दा निकै बढी हुन सक्ने शाहको भनाइ छ।

पर्यटन क्षेत्रमा जनशक्ति अभाव

हानले पर्यटन क्षेत्रमा आवश्यक जनशक्तिको अभावलाई समेत गम्भीर विषयका रूपमा उठाएको छ। देशमा बेरोजगारी रहेको भनिए पनि होटल तथा पर्यटन क्षेत्रमा आवश्यक कामदार र दक्ष जनशक्ति पाउन कठिन भइरहेको शाहले बताए।

नयाँ–नयाँ होटल थपिँदै गए पनि आवश्यक दक्ष जनशक्ति बजारबाट पाउन नसकिएको उनको भनाइ छ। रोजगारीको खोजीमा नेपाली युवा विदेश जाने क्रम बढिरहेकाले श्रम बजारमा माग र आपूर्तिबीच ठूलो असन्तुलन रहेको शाहले बताए।

उनले पर्यटन क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्ति उत्पादन र तालिमका लागि सरकारले विशेष योजना बनाउनुपर्ने माग गरे।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘देश दर्शन’ कार्यक्रम लागू गर्न माग

हानले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयन गर्न पनि माग गरेको छ । यसअघिको सरकारले निजामती कर्मचारीलाई दुई–तीन दिनको सशुल्क बिदा दिएर देश भ्रमण गराउने कार्यक्रम घोषणा गरे पनि आवश्यक कार्यविधि नबन्दा कार्यान्वयन हुन नसकेको शाहले बताए।

कार्यविधि बनाएर कार्यक्रम लागू गर्न सके आन्तरिक पर्यटन प्रवद्र्धनसँगै होटल, ट्राभल एजेन्सी, एयरलाइन्स, किसान, यातायात व्यवसायी र ट्याक्सी चालकसम्मलाई आर्थिक लाभ पुग्ने उनको भनाइ छ।

विदेशी पर्यटकका लागि भुक्तानी प्रणाली सहज बनाउन माग

हानले विदेशी पर्यटकका लागि भुक्तानी प्रणाली सहज बनाउनुपर्ने माग पनि गरेको छ। विशेषगरी बंगलादेश र श्रीलंकाबाट आउने पर्यटकले आफ्नै मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने शाहले बताए।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा बंगलादेश र श्रीलंकालगायतका मुलुकबाट आउने पर्यटकलाई उनीहरूको आफ्नै मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने नीतिगत घोषणा भए पनि त्यसका लागि आवश्यक कार्यविधि बन्न बाँकी रहेको उनले बताए।

‘बंगलादेशबाट आउने पर्यटकको संख्या उल्लेख्य छ। उनीहरू नेपाल आउन इच्छुक भए पनि भुक्तानी प्रणाली सहज नहुँदा समस्या छ,’ शाहले भने, ‘नीतिगत घोषणा कार्यान्वयन गर्न कार्यविधि बनाइदिने हो भने पर्यटक आगमन बढाउन सहयोग पुग्छ।’

त्यस्तै, श्रीलंकाबाट लुम्बिनी आउने पर्यटकलाई आफ्नै मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनले बताए । विदेशी पर्यटकका लागि भिसा शुल्कलगायतका भुक्तानीसमेत डिजिटल माध्यमबाट सहज बनाउनुपर्ने हानको सुझाव छ।

पर्यटन विकाससँग सम्बन्धित सरकारी निकायमा सुधार आवश्यक

हानले नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलगायत पर्यटन विकाससँग सम्बन्धित सरकारी निकायको प्रभावकारिता बढाउनुपर्ने माग गरेको छ।

शाहका अनुसार ती निकायले आफ्नो जिम्मेवारीअनुसार प्रभावकारी रूपमा काम गर्न नसक्दा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेको छैन । विशेषगरी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण समय आइसक्दा पनि नेपाल पर्यटन बोर्डको बजेट कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले बताए।

‘अहिले असोज भइसक्यो । पर्यटन प्रवद्र्धनलाई तीव्र बनाउनुपर्ने बेला हो। पर्यटन बोर्डसँग करिब दुई अर्ब रुपैयाँको बजेट हुन्छ, तर प्रभावकारी रूपमा काम हुन सकेको छैन,’ उनले भने ।

हानले पर्यटन प्रवद्र्धनका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी आवश्यक रहेको बताएको छ ।

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने

शाहका अनुसार पर्यटन क्षेत्र होटल व्यवसायमा मात्रै सीमित नभई अर्थतन्त्रका धेरै क्षेत्रमा प्रभाव पार्ने क्षेत्र हो । पर्यटन बढ्दा होटल तथा ट्राभल व्यवसायसँगै कृषि, यातायात, हवाई सेवा, ट्याक्सी, रोजगारी र सरकारी राजस्वमा समेत सकारात्मक प्रभाव पर्छ ।

त्यसैले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकारले दीर्घकालीन राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने उनको भनाइ छ।

‘पर्यटनले होटललाई मात्रै होइन, किसानदेखि ट्रान्सपोर्टर र ट्याक्सी चालकसम्मलाई फाइदा पुर्याउँछ । सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्छ,’ शाहले भने, ‘त्यसैले पर्यटनलाई प्राथमिकतामा राखेर राष्ट्रिय मास्टर प्लान आवश्यक छ ।’

हानले यी विषय समेटेर प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा १२ बुँदे सुझाव पेस गरेको जनाएको छ। सुझावमा होटललाई उद्योगसरह सुविधा दिने, अनौपचारिक पर्यटन व्यवसायलाई नियमन गर्ने, पर्यटक आगमनको तथ्यांक प्रणाली सुधार गर्ने, राष्ट्रिय पर्यटन मास्टर प्लान बनाउने, जनशक्ति व्यवस्थापन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने तथा भुक्तानी प्रणाली सहज बनाउनेलगायतका विषय समेटिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima