Skip to content
Prabhu

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

ताप्लेजुङ । गत  असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन ।  ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना  निर्माण गरिएको थियो । 

सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनःनिर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो । 

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ‘इप्पान’ का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो । 

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनःनिर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिनुभयो । पुनःनिर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए। आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ । 

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal