Skip to content

एबीपी इनर्जीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता असोज ९ गते सम्पन्न भएको हो । सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटलले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

एबीपी इनर्जीले नेपालको जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यसहित जलविद्युत् आयोजना विकास तथा व्यवस्थापन गर्दै आएको छ ।

कम्पनीले हाल नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदी क्षेत्रमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने उक्त आयोजना रन–अफ–रिभर प्रकृतिको हो ।

आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट २०८४ वैशाख मसान्तसम्ममा व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भइसकेको छ । आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशतभन्दा बढी भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेका तथा आयोजना विकाससम्बन्धी ज्ञान भएका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडाका साथै नेपाली प्रविधि उद्यमी तथा एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक अज्गर अली रहेका छन् ।

अनुभवी नेतृत्व, ऊर्जा क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा नेपालको जलस्रोतको प्रभावकारी उपयोगमार्फत स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima