काठमाडौं । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’को दोस्रो संस्करण सार्वजनिक भएको छ ।
द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा पुस्तक प्रकाशित भएको हो । त्रिवि मानविकी संकायका डिन प्रा.डा दुबीनन्द ढकालको प्रमुख आतिथ्यमा विमोचन गरिएको थियो ।
पुस्तकमा २५ जना फेलो लेखकका आलेख समावेश छन् भने नेपाली महिला र महिलाभित्रका विविध समूहका अनुभव, संघर्ष र आन्दोलनमा योगदानका साथै दलित तथा आदिवासी जनजाति समुदायका अपांगता भएका महिलाले भोगेको बहुस्तरीय विभेद र लैंगिक तथा यौनिक अल्पसंख्यकका सवाल समेटिएका छन् ।
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा कुन्दन अर्यालले पुस्तक नेपाली महिला आन्दोलन र समाज अध्येताका लागि सन्दर्भ सामग्री बन्ने बताए भने समाजशास्त्री डा.मीना पौडेलले यो पुस्तक इतिहास लेखनको वैकल्पिक यात्रा भएको र महिलावादी अनुसन्धान विधिले सामाजिक न्यायको लेखन गरेको बताइन् ।
द स्टोरी किचेनकी अध्यक्ष डा.जया लुइँटेलले आमा, हजुरआमाको जीवन भोगाइबाट आएको ज्ञानलाई प्राज्ञिक ज्ञान बनाउन विश्वविद्यालयसँग सहकार्य गरिरहेको बताइन् । कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले भनिन्, ‘यो केवल पुस्तक सार्वजनिक कार्यक्रममात्र होइन, नेपालका विविध महिला आन्दोलन, तिनका संर्घा र योगदानलाई सहखोजी र सहलेखनमार्फत दस्तावेजीकरण गर्न सफल सामूहिक प्रयासको उत्सव हो ।’
सन्धान द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । संस्थाले सन् २०२२ देखि हरेक वर्ष सन्धान फेलोसिप दिँदै आएको छ । २१ जना फेलोका आलेख समेटिएको सन्धान संग्रह शृंखला १ सन् २०२४ मा प्रकाशित भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्