Skip to content

नेपालको निर्यातमा वित्तदेखि पूर्वाधारसम्म अवरोधः ८३ प्रतिशतभन्दा बढी निर्यातकर्ता भन्छन्– वित्तीय पहुँच ठूलो समस्या

काठमाडौं । नेपालको वस्तु तथा सेवा निर्यात विस्तारमा वित्तीय पहुँचदेखि पूर्वाधार, भन्सार, दक्ष जनशक्ति र नीतिगत अस्पष्टतासम्मका समस्या प्रमुख अवरोधका रूपमा देखिएका छन्। एशियाली विकास बैंक (एडीबी) को अध्ययनले निर्यात विस्तारका लागि नेपालले उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउँदै अर्थतन्त्रलाई रेमिट्यान्स तथा निजी उपभोगमा आधारित अवस्थाबाट निर्यातमुखी मोडेलतर्फ लैजानुपर्ने आवश्यकता औँल्याएको छ ।

अध्ययनअनुसार आर्थिक वर्ष २०२४ मा नेपालको वस्तु निर्यात कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.२ प्रतिशत मात्रै थियो । सोही वर्ष नेपालको वस्तु निर्यात आयातको करिब एक–दशांश बराबर रहेको थियो। नेपालको कुल वस्तु निर्यातको ७० प्रतिशतभन्दा बढी भारततर्फ जाने गरेको छ । अमेरिका, युरोपेली संघ, बेलायत, टर्किए र चीन अन्य प्रमुख बजार हुन् ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा प्रशोधित पाम तेल, सोयाबिन तेल, गलैँचा, फेल्ट, धागो तथा कपडालगायत छन् । एडीबीले ५० नेपाली फर्मलाई समेटेर गरेको सर्वेक्षणमा ८३ प्रतिशतभन्दा बढी निर्यातकर्ताले वित्तीय पहुँचलाई निर्यात विस्तारको अवरोधका रूपमा उल्लेख गरेका छन्। त्यसमध्ये ५४.१ प्रतिशतले वित्तीय पहुँचको समस्यालाई ठूलो वा गम्भीर अवरोध मानेका छन् ।

व्यवसायीका अनुसार बैंक तथा अन्य स्रोतबाट ऋण लिन उच्च ब्याजदर, ब्याजदरमा हुने उतारचढाव र ठूलो परिमाणमा धितो मागिनु प्रमुख समस्या हुन् । कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने मध्यवर्ती वस्तु आयातमा लाग्ने कर पनि निर्यातका लागि चुनौती बनेको छ। सर्वेक्षणमा सहभागी करिब ४७.१ प्रतिशत फर्मले आयातित कच्चा पदार्थमा लाग्ने करलाई ठूलो वा गम्भीर अवरोध मानेका छन् ।

नेपालमा ढुवानी तथा लजिस्टिक लागत उच्च हुनु निर्यात विस्तारको अर्को प्रमुख समस्या देखिएको छ। विशेषगरी हवाई ढुवानी महँगो हुनु, केही गन्तव्यमा सामान पठाउन लामो समय लाग्नु तथा उचित भण्डारण सुविधा नहुनुले निर्यातकर्तालाई समस्या परेको अध्ययनले जनाएको छ ।

भारतका पश्चिमी बन्दरगाहसम्म सहज पहुँच नहुँदा केही बजारमा सामान पठाउने समय र लागत बढ्ने गरेको छ। नाशवान् वस्तुका लागि आवश्यक गुणस्तरीय गोदाम तथा भण्डारण पूर्वाधारको अभाव पनि चुनौती बनेको छ।

उद्योग विस्तारका लागि सस्तो र सहज रूपमा जग्गा उपलब्ध नहुनु अर्को समस्या हो । करिब ६४ प्रतिशत फर्मले सस्तो जग्गाको पहुँचलाई अवरोधका रूपमा उल्लेख गरेका छन् भने करिब ४० प्रतिशतले यसलाई ठूलो वा गम्भीर अवरोध मानेका छन् ।

कमजोर व्यापार पूर्वाधारले निर्यात लागत बढाएको व्यवसायीहरूले बताएका छन् । सडकको अवस्था कमजोर हुनु तथा भन्सार कार्यालयमा पर्याप्त गोदाम र अन्य पूर्वाधारको अभावले पनि निर्यातमा समस्या थपेको छ ।

कच्चा पदार्थ आयात गर्दा भन्सारले वास्तविक कारोबार मूल्यभन्दा बढी सन्दर्भ मूल्यका आधारमा कर निर्धारण गर्ने गरेको गुनासो व्यवसायीहरूले गरेका छन् ।भन्सार प्रणालीमा बारम्बार प्राविधिक समस्या आउनु, प्रणाली बन्द हुनु तथा सामान छुटाउन लाग्ने समय बढ्नुले समेत व्यापार लागत बढाएको अध्ययनले देखाएको छ ।

निर्यातमूलक उद्योगले आवश्यक दक्ष जनशक्ति पाउन नसक्नु पनि प्रमुख चुनौतीका रूपमा देखिएको छ । विशेषगरी मेसिन सञ्चालन गर्न सक्ने दक्ष कामदारको अभाव र कर्मचारीको उच्च आवतजावतले उत्पादन क्षमतामा असर पारेको छ ।

श्रमिक उत्पादकत्व कम हुनु, बिदाका समयमा अनुपस्थित हुने प्रवृत्ति र व्यावसायिकताको कमी पनि उद्योगका समस्या हुन् । विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दा दक्ष जनशक्ति बाहिरिनु निर्यात उद्योगका लागि थप चुनौती बनेको अध्ययनले जनाएको छ ।

नेपालका निर्यातकर्तालाई भारतबाहेकका बजारमा विदेशी खरिदकर्तासँग सम्पर्क स्थापित गर्न कठिन हुने गरेको छ । खाद्य तथा कृषि उत्पादन निर्यात गर्ने व्यवसायीले अन्तर्राष्ट्रिय गुणस्तर तथा मापदण्ड पूरा गरेको प्रमाणित गर्न पनि समस्या भोगिरहेका छन् ।

सिमेन्ट र प्लाइउडजस्ता वस्तुका निर्यातकर्ताले भारतमा आवश्यक भारतीय मापदण्ड ब्युरो (बीआईएस) प्रमाणीकरण प्राप्त गर्न लाग्ने समय, खर्च र अनिश्चिततालाई चुनौतीका रूपमा लिएका छन् ।

विनिमय दरमा हुने उतारचढावले कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुको लागतसमेत बढाउन सक्ने अध्ययनले जनाएको छ । समस्याका बाबजुद विदेशमा ठूलो संख्यामा रहेका नेपाली निर्यात विस्तारका लागि महत्त्वपूर्ण अवसर बन्न सक्ने अध्ययनले देखाएको छ ।

विदेशमा रहेका नेपाली मूलका उपभोक्ताले नेपाली उत्पादनका लागि अतिरिक्त मूल्य तिर्नसमेत तयार हुने गरेको अध्ययनमा उल्लेख छ। विदेशमा रहेका नेपाली व्यवसायी तथा उद्यमीले आफ्नो बजार ज्ञान र व्यावसायिक सम्पर्कमार्फत नेपालका उत्पादनलाई नयाँ बजारमा पु¥याउन सहयोग गरिरहेका छन्।

भारत, युरोपेली संघ र बेलायतजस्ता बजारमा उपलब्ध शुल्करहित पहुँच पनि नेपालका लागि महत्त्वपूर्ण अवसरका रूपमा देखिएको छ। अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता, डिजिटल प्रविधिको विस्तार तथा विदेशी बजारमा रहेका व्यक्तिगत र व्यावसायिक सम्पर्कले निर्यात विस्तारमा सहयोग पु¥याउन सक्ने अध्ययनले जनाएको छ।

सेवा निर्याततर्फ सूचना प्रविधि (आईटी) र पर्यटनमा ठूलो सम्भावना भए पनि नेपालले त्यसको पूर्ण उपयोग गर्न सकेको छैन । आईटी क्षेत्रमा साइबर सुरक्षा कमजोर रहेको धारणा, डेटा स्थानान्तरणसम्बन्धी स्पष्ट व्यवस्था नहुनु, डेटा संरक्षणको कमजोर कानुनी संरचना र बौद्धिक सम्पत्ति अधिकारको कमजोर संरक्षणले ठूला अन्तर्राष्ट्रिय ग्राहकसँग काम गर्न कठिनाइ हुने गरेको अध्ययनले देखाएको छ।

आईटी क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासहितको नीति नहुनु, विदेशबाट सफ्टवेयर खरिदमा विदेशी मुद्रा प्रयोगसम्बन्धी सीमितता तथा विदेशमा शाखा वा सहायक कम्पनी खोल्न कठिनाइले नेपाली आईटी कम्पनीको अन्तर्राष्ट्रिय विस्तारमा असर पारेको छ।

तीव्र गतिको इन्टरनेटलगायत पूर्वाधारमा सुधार भइरहे पनि तीव्र विकासका लागि आवश्यक स्तरमा अझै पुग्न नसकेको अध्ययनले जनाएको छ। दक्ष आईटी जनशक्ति विदेश पलायन हुनु पनि ठूलो चुनौती बनेको छ।

पर्यटन नेपालको सेवा निर्यातको महत्त्वपूर्ण क्षेत्र भए पनि प्रभावकारी राष्ट्रिय रणनीतिको अभाव, गन्तव्य विकासमा अन्योल, पूर्वाधारको कमी र अन्तर्राष्ट्रिय हवाई सम्पर्कको सीमितता प्रमुख समस्या रहेको अध्ययनले औँल्याएको छ।

पर्यटनसम्बन्धी अधिकार संघ, प्रदेश र स्थानीय तहमा बाँडिँदा गन्तव्य व्यवस्थापन तथा शुल्क उठाउने विषयमा तहगत अन्योल र विवाद सिर्जना हुने गरेको अध्ययनमा उल्लेख छ।

नेपालको पर्यटन प्रवद्र्धन मुख्यतः पर्वतारोहण, पदयात्रा तथा साहसिक पर्यटनमा केन्द्रित हुँदा अन्य उमेर समूहका पर्यटक आकर्षित गर्न कठिन भएको अध्ययनको निष्कर्ष छ। युरोप र अमेरिकालाई लक्षित प्रचार रणनीति भारत, चीन तथा अन्य छिमेकी बजारका लागि पर्याप्त प्रभावकारी हुन नसकेको पनि अध्ययनले जनाएको छ।

समस्याका बाबजुद नेपालमा पर्यटन विस्तारका पर्याप्त सम्भावना रहेको अध्ययनले देखाएको छ। होटल पूर्वाधारमा भइरहेको विस्तारले विभिन्न आयस्तर र रुचिका पर्यटकका लागि आवासको विकल्प बढाएको छ।

सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सकिने होटलको क्षमता विस्तार भइरहेकाले माइस पर्यटनको सम्भावना पनि बढेको छ। नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा हिन्दू र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण धार्मिक स्थलका कारण धार्मिक पर्यटनमा समेत ठूलो सम्भावना रहेको अध्ययनले औँल्याएको छ।

एडीबीको अध्ययनले नेपालको वस्तु तथा सेवा निर्यात विस्तारका लागि वित्तीय पहुँच सहज बनाउने, ब्याजदर तथा धितोसम्बन्धी समस्या समाधान गर्ने, कच्चा पदार्थमा लाग्ने कर र भन्सार प्रक्रिया सुधार गर्ने तथा सडक, ढुवानी र भण्डारण पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

एडीबीको अध्ययनले नेपालको वस्तु तथा सेवा निर्यात विस्तारका लागि वित्तीय पहुँच सहज बनाउने, ब्याजदर तथा धितोसम्बन्धी समस्या समाधान गर्ने, कच्चा पदार्थमा लाग्ने कर र भन्सार प्रक्रिया सुधार गर्ने तथा सडक, ढुवानी र भण्डारण पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

त्यस्तै, दक्ष जनशक्ति विकास र टिकाउने नीति, आईटी क्षेत्रमा स्पष्ट कानुनी व्यवस्था, साइबर सुरक्षा, डेटा संरक्षण तथा बौद्धिक सम्पत्ति अधिकारको बलियो संरक्षण आवश्यक रहेको अध्ययनले जनाएको छ।

पर्यटनतर्फ स्पष्ट राष्ट्रिय रणनीति, नयाँ गन्तव्यको विकास, आधारभूत पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क सुधार तथा लक्षित बजारअनुसार प्रवद्र्धन रणनीति अपनाउन सके नेपालले वस्तु तथा सेवा निर्यातको ठूलो सम्भावना उपयोग गर्न सक्ने अध्ययनको निष्कर्ष छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima