काठमाडौं । असोज १९ गते सोमबार नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप्यो । यो सूचना प्राधिकरणबाट नभएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयबाट आयो ।
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको जनाएको छ ।
प्राधिकरणले आरसीओडी थपेका आयोजनामध्ये केही आयोजना राष्ट्रिय स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका नेताहरूको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको समेत रहेको छ ।
यस्ता आयोजनामा इप्पानका सल्लाहकार, इप्पानका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव देखि सदस्यसम्मका रहेका छन् । पछिल्लो समय सरकार र इप्पानको दूरी बढ्दै जान थालेपछि इप्पानकै नेताहरुका आयोजनाको आरसीओडी थपेर दूरी कम गर्ने प्रयासमा सरकार लागेको स्रोतको दाबी छ ।
इप्पानका पूर्व केन्द्रीय सदस्य तथा रास्वपाका सांसद भरत पराजुली कार्यकारी निर्देशक रहेको इन्ट्रिग्रेटेड हाइड्रो फन्ड नेपाल र ब्रम्हायणी हाइड्रोपावर प्रालिको आरसीओडी थपिएको छ ।
यस्तै आरसीओडी थपिने कम्पनीमा मुनलाइट हाइड्रोपावर रहेको छ । यसको अध्यक्षमा कल्याण बिक्रम न्यौपाने रहेका छन् । यस्तै सञ्चालकमा सुधीर लामिछाने र वेद प्रकाश विष्ट रहेका छन् ।
मुनलाइटको वित्तीय साझेदारी बिग ग्रुप, केबीएनआर ईसुवा पावर लिमिटेड, जेएजडीसी र ईसुवा ईनर्जीमा रहेको छ । ईसुवा इनर्जीको सञ्चालकमा वीरेन्द्र बहादुर न्यौपाने रहेका छन् । यो कम्पनीको अध्यक्षमा बिक्रम विष्ट रहेका छन् । विष्ट हाल इप्पानको उपाध्यक्ष रहेका छन् ।
यस्तै केबीएनआर ईसुवा पावर लिमिटेडको अध्यक्षमा वीरेन्द्र, प्रबन्ध निर्देशकमा कल्याण, सीईओमा अनन्त कार्की, सीएफओमा सुधीर लामिछाने, प्रशासनमा वेद प्रकाश विष्ट रहेका छन् ।
यस्तै जेएचडिसी अर्थात् जोशी हाइड्रोमा सुधीर लामिछाने सीईओ रहेका छन् । केबीएनआर ईसुवा पावरको अध्यक्षमा वीरेन्द्र, प्रबन्ध निर्देशकमा कल्याण, सीईओमा अनन्त कार्की रहेका छन् ।
यस्तै बिग ग्रुपको अध्यक्षमा वीरेन्द्र बहादुर न्यौपाने रहेका छन् । प्रबन्ध निर्देशकमा कल्याण बिक्रम न्यौपाने रहेका छन् भने सीईओमा अनन्त कार्की रहेका छन् । यो ग्रुपमा भरत खत्रीको समेत साझेदार रहेको बताइन्छ । उनी इप्पानका सल्लाहकार हुन् । उनी इप्पानका पूर्व उपाध्यक्ष हुन् ।
यस्तै भिजन इनर्जी एन्ड पावर लिमिटेडको पनि आरसीओडी थपिएको छ । यो कम्पनीका अध्यक्ष टीएन आचार्य हुन् । उनी हाल इप्पानको महासचिव छन् ।
यस्तै इप्पानका निवर्तमान अध्यक्ष तथा ऊर्जा मन्त्री श्रेष्ठका सल्लाहकार गणेश कार्की प्रबन्ध निर्देशक रहेको अर्बिट इनर्जीको पनि आरसीओडी थपिएको छ । उक्त कम्पनीको अध्यक्ष वटु लामिछाने छन् । कार्की र लामिछाने व्यवसायीक साझेदार हुन् ।
यस्तै फेदिखोला हाइड्रोपावर कम्पनीको पनि आरसीओडी थपिएको छ । यो कम्पनीमा इप्पानका उपाध्यक्ष प्रकाश दुलाल प्रबन्ध निर्देशक रहेका छन् । दुलाल इप्पानका पूर्व उपमहासचिव समेत हुन् ।
यस्तै इप्पानका कोषाध्यक्ष शंकार बस्याल कोषाध्यक्ष सञ्चालक रहेको नर्थ समिट हाइड्रोको पनि आरसीओडी थपिएको छ । यस्तै विद्युत् प्राधिकरणको लगानी भएको रघुगंगा हाइड्रोपावर कम्पनीको पनि आरसीओडी थपिएको छ ।
इप्पानको कार्य समिति सदस्य मिलन खड्का सञ्चालक रहेको दिव्य ज्योति हाइड्रोपावरको पनि आरसीओडी थपिएको छ । इप्पानको सचिव सुमन कुमारी जोशी कार्यकारी निर्देशक रहेको ह्वाइट लोटस पावरको पनि आरसीओडी थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्