Skip to content

राष्ट्र बैंकको ‘डिजिटल फाइनान्स इनोभेसन हब’ मा ५० फिनटेक सहभागी

काठमाडौं । नेपाल राष्ट्र बैंकको ‘डिजिटल फाइनान्स इनोभेसन हब’ मा ५० वटा फिनटेक कम्पनी, नवप्रवर्तनकारी संस्था तथा व्यक्तिहरू आबद्ध भएका छन् । डिजिटल वित्तीय सेवाका क्षेत्रमा नयाँ प्रविधि र अवधारणाको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित हबमा सबैभन्दा बढी भुक्तानी र डिजिटल कर्जासम्बन्धी नवप्रवर्तनहरू सहभागी भएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को प्रभाव प्रतिवेदनअनुसार हबको सम्पर्कमा आएका ५० समूह तथा संस्थामध्ये ३० वटा अनुमतिपत्र नलिएका फिनटेक कम्पनी छन् । यसैगरी, ८ वटा भुक्तानी प्रणाली सञ्चालक, ४ वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, ३ वटा भुक्तानी सेवा प्रदायक र ३ जना व्यक्तिगत नवप्रवर्तक आबद्ध भएका छन् ।
यसैगरी, एक रेमिट्यान्स कम्पनी र एक बैंक तथा भुक्तानी सेवा प्रदायकको साझेदारी समूह पनि हबमा सहभागी भएको प्रतिवेदनमा उल्लेख छ । हबमा आबद्ध नवप्रवर्तनमध्ये सबैभन्दा बढी आकर्षण भुक्तानी र डिजिटल कर्जामा देखिएको छ । भुक्तानी प्रणालीसँग सम्बन्धित १२ वटा र डिजिटल कर्जासम्बन्धी ११ वटा नवप्रवर्तन हबमा आबद्ध छन् । त्यस्तै, क्रेडिट स्कोरिङका ७, इम्बेडेड फाइनान्सका ५ र ओपन बैंकिङ तथा फाइनान्सका ४ वटा नवप्रवर्तन सहभागी भएका छन् ।
यसैगरी, रेगटेकसम्बन्धी ३, डिजिटल अनबोर्डिङका २, डिजिटल पहिचानसम्बन्धी एक र वित्तीय सेवालाई सहयोग गर्ने प्राविधिक समाधानसम्बन्धी एक नवप्रवर्तन हबमा आबद्ध छन् । वेल्थटेक, विज्ञापन प्लेटफर्म र व्यापारिक बजारस्थललगायत अन्य क्षेत्रका ४ वटा नवप्रवर्तन पनि हबमा समेटिएका छन् ।
प्रतिवेदनअनुसार हबमा आबद्ध ५० नवप्रवर्तनमध्ये २० वटा अर्थात् ४० प्रतिशत पूर्ण रूपमा तयार भई बजारमा जान योग्य भएका छन् । यसले डिजिटल वित्तीय सेवाका क्षेत्रमा नयाँ अवधारणालाई व्यावसायिक रूपमा कार्यान्वयन गर्ने चरणसम्म पुर्‍याउन हबले सहयोग गरिरहेको देखाउँछ ।
बाँकी नवप्रवर्तनमध्ये ८ वटा अवधारणात्मक चरणमा छन् भने ७ वटा पाइलट परीक्षणका लागि तयार भएका छन् । त्यस्तै, ७ वटा विकासको क्रममा, ४ वटाको प्रोटोटाइप तयार र ३ वटा निकट भविष्यमा अघि बढाउने योजनामा छन् । एउटा नवप्रवर्तन भने सीमित प्रयोगकर्ता समूहमा परीक्षणको चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि तथा व्यावसायिक अवधारणा विकास गर्ने क्रममा देखिने नियामकीय अन्योल हटाउन पनि हबले सहजीकरण गरेको राष्ट्र बैंकले जनाएको छ ।
हबमार्फत हालसम्म १४ वटा विषयमा सम्बन्धित नवप्रवर्तकलाई नियामकीय स्पष्टता प्रदान गरिएको छ । यस अवधिमा २० वटा प्रारम्भिक अन्तरक्रिया सम्पन्न भएका छन् भने ९ वटा प्रस्ताव समीक्षाको क्रममा छन् ।
यसैगरी, हबले ३ वटा नवप्रवर्तनलाई औपचारिक मार्गदर्शन उपलब्ध गराएको छ । नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ३ वटा नीतिगत सुझाव सम्बन्धित विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । अन्य ३ वटा समूहबाट भने औपचारिक प्रस्ताव आउन बाँकी छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गत सञ्चालित डिजिटल फाइनान्स इनोभेसन हबले डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि र अवधारणाको विकास गरिरहेका प्रवर्द्धकसँग सहकार्य तथा अन्तरक्रिया गर्दै आएको छ । हबले नवप्रवर्तनकारी समाधानको विकास, नियामकीय स्पष्टता र नीतिगत सुधारका लागि सहजीकरण गर्ने भूमिका निर्वाह गर्दै आएको प्रतिवेदनले देखाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima