काठमाडौं । पाँच अर्ब डलरभन्दा बढीको शङ्कास्पद कारोबारबारे समयमै प्रतिवेदन नदिएको र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा गम्भीर कमजोरी देखिएको भन्दै अमेरिकी अर्थ मन्त्रालयले बैंक अफ अमेरिकामाथि १ अर्ब २१ करोड डलरभन्दा बढीको कारबाही गरेको छ ।
सम्पत्ति शुद्धीकरण रोकथाम तथा प्रतिबन्धसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकाको दोस्रो ठूलो बैंक ‘बैंक अफ अमेरिका’माथि १ अर्ब २१ करोड डलरभन्दा बढीको जरिवानासहित कारबाही गरेको हो ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार वित्तीय अपराध नियन्त्रण सञ्जालले बैंकलाई १ अर्ब २० करोड डलर र मुद्रा नियन्त्रक कार्यालयले ७५ करोड डलर जरिवाना लगाएका छन् । त्यस्तै, विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले विभिन्न प्रतिबन्धसम्बन्धी कार्यक्रमको सम्भावित उल्लङ्घनका विषयमा बैंकसँग १ करोड १६ लाख डलरको सम्झौता गरेको छ ।
वित्तीय अपराध नियन्त्रण सञ्जालको अनुसन्धानअनुसार बैंकले ५ अर्ब डलरभन्दा बढी मूल्यका शङ्कास्पद कारोबारबारे समयमै प्रतिवेदन दिएको थिएन। त्यसमध्ये १ अर्ब डलरभन्दा बढीको कारोबार राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम, चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जाल, ठगी तथा अमेरिकाको दक्षिणपश्चिमी सीमाक्षेत्रसँग जोडिएको सम्भावित अवैध वित्तीय गतिविधिसँग सम्बन्धित थियो ।
बैंकले शङ्कास्पद कारोबार पहिचान तथा प्रतिवेदन प्रणाली प्रभावकारी बनाउन नसकेको, ग्राहकको आवश्यक जाँचबुझ नगरेको र विदेशी वित्तीय संस्थाका खाताको निगरानीमा कमजोरी देखाएको अनुसन्धानमा उल्लेख छ। बैंकले कानुनी दायित्व पूरा गर्ने प्रणाली सुधार गर्नुभन्दा आम्दानीलाई प्राथमिकता दिएको पनि अमेरिकी अधिकारीहरूको निष्कर्ष छ।
https://home.treasury.gov/news/press-releases/sb0657/










प्रतिक्रिया दिनुहोस्